८ बैशाख २०८१, शनिबार

उधारोमा टिकेको सेयर बजार

प्रकाशित मिति :  22 December, 2021 12:44 pm


अम्बिका शर्मा

अहिले दोस्रो बजार (सेकेन्डरी मार्केट)मा सेयर कारोबार गर्नेको संख्या बढ्दो छ । पहिले दोस्रो बजारमा प्रवेश गर्दा सेयर किन्न र बेच्न परेमा ब्रोकरलाई नै भन्नुपर्ने बाध्यता थियो भने अहिले त्यो अवस्था छैन जसले गर्दा दोस्रो बजारमा अनलाइनमार्फत् कारोबार गर्नेको संख्या पनि बढ्दै गएको छ ।

लगानीकर्ताले दोस्रो बजार प्रवेश गरेपछि कुनै पनि ब्रोकरमार्फत् खाता खोलेर नेपाल स्टक एक्सचेन्जले ल्याएको ‘ट्रेड म्यानेजमेन्ट सिस्टममार्फत्’ आफैले चाहेको सेयर किनबेच गर्न सक्दछन् ।

हाल करिब ९ लाखभन्दा बढी अनलाइन कारोबारी छन् । प्रायःले हाल घरमै बसेर सेयर खरिद–बिक्री पनि गर्दै आइरहेका छन् । दोस्रो बजारमा कारोबार गर्दा न्यूनतम २५ प्रतिशत धरौटी रकम राखी ब्रोकरले त्यसको ४ गुणासम्म सेयर किनबेच गर्ने सुविधा दिइरहेका छन् । सोही सुविधालाई अनलाइन कारोबार गर्ने लगानीकर्ताले अधिकतम रकम खरिद गर्ने र राफसाफको समयमा रकम भुक्तानी गर्ने चलन बढ्दै गइरहेको लगानीकर्ताहरू नै बताउँछन् ।

ब्रोकरले दिएको सुविधाअनुसार मानौ तपाईँले ब्रोकरलाईं १ लाख रुपैयाँ रकम धरौटी बुझाउनु भयो भने ४ लाख रुपैयाँसम्म र १० लाख बुझाए ४० लाखसम्मको सेयर किनबेच गर्न पाउनुहुन्छ, जसको सदुपयोग गर्दैै लगानीकर्ताले बढ्दो बजारमा सेयर किन्ने गरेका छन् । अहिले ३१ सयको उच्च विन्दुमा पुगेको नेप्से झरेर २५ सयको हाराहारीमा आउँदा लगानीकर्ताले भुक्तानी गर्न आनाकानी गर्दा राफसाफ गर्न गाह्रो परेको ब्रोकर कम्पनीहरू बताउँछन् ।

लगानीकर्ताले बजार बढेको बेलामा सेयर किन्ने र घटेको बेलामा भुक्तानी गर्न आनाकानी गर्ने तथा सम्र्पकमा नआउने प्रवृत्तिले सेयर बजारमा उधारो कारोबार राम्रै चल्ने गरेको सेयर ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् ।

“ब्रोकरको ठ्याक्कै यति नै उधारो छ भन्ने यकिन तथ्याङ्क त छैन तर औसतमा हेर्दा ८/१० अर्बचाहिँ हुनुपर्छ ” अध्यक्ष मैनालीले भने “बढ्दो बजारमा पनि उधारो नहुने भन्ने होइन हुन्छ तर लामो समयको बाँकी चाँही हुँदैन ।”

अध्यक्ष मैनालीका अनुसार सेयर बजारमा उधारो कारोबार कम गर्नको लागि शतप्रतिशत पहिले नै तिर्नुपर्‍यो अर्थात खातामा पैसा नभए सेयर अर्डर गर्न नमिल्ने व्यवस्था हुनुपर्‍यो कि ’मार्जिन लोन’अन्तर्गत लगेर कारोबार ऋणको रूपमा कारोबार गर्नु पर्‍यो ।

उधारो कारोबार पहिले भन्दा बिस्तारै कम भएको भन्दै मैनाली यसलाई निर्मूल पार्दा सम्पूर्ण सेयर बजार नै प्रभावित पर्ने बताउँछन् ।

लगानीकर्ताको संख्या अत्यधिक बढ्दै गएको र ब्रोकर कम्पनीका सीमित कर्मचारीबाट सेयर खरिद रकमको भुक्तानीका लागि सम्पर्क गर्न नभ्याउँदासमेत लगानीकर्ताहरूले सेयर खरिद गरेको रकम बुझाउँदैनन्, जब ब्रोकरले सम्पर्क गरेर रकम माग गर्दछन् तब लगानीकर्ताहरुले सेयर बेचेरै राफसाफ गर्ने जवाफ दिन्छन् । अर्थात्, हिजोआज थोरै रकमबाट समेत ब्रोकरकै पैसामा सेयर लगानी गर्ने चलन बढ्दै जाँदा बजारमा उधारो रकम पनि बढिरहेको स्पष्ट हुन्छ ।

पहिलो लकडाउन पछाडि रहेको उधारो कारोबारको जस्तो समस्या थियो अहिले धेरै कम भएको कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरेटिजका अध्यक्ष भरत रानाभाट बताउँछन् ।

“सेयर बजारमा उधारो कारोबार चलिरहन्छ, अहिले हामीले २५ प्रतिशत अग्रिम भुक्तानी नलिइ कारोबार नै गर्दैनौ भने नयाँ लगानीकर्तालाई त १०० प्रतिशत नै लिने गरेका छौ” रानाभाटले भने “बजारमा बिना क्रेडिट कारोबार हुन गाह्रो छ, तर अहिले घट्दो बजारमा समयमै भुक्तानी नगर्ने समस्या छ ।”

साधारणयता तपाईँलाई कुनै कम्पनीको सेयर बेच्न मन लाग्यो भने नेप्सेले ल्याएको टिएमएसमार्फत आफैले अथवा ब्रोकरलाई भनेर सेयर बेच्न सक्नुहुन्छ । यसरी  सेयर बिक्री भएको ३ दिनभित्र तपाईको खातामा रकम आउनुपर्ने हुन्छ । तर किन्ने व्यक्तिले डिम्याटमा सेयर आए पनि समयमै पैसा भुक्तानी नगर्दा प्रायः ३ दिनभित्र पैसा आउँदैन ।

अझै कतिपय लगानीकर्ताले त सेयर किनेर पुरानो सेयर बेचेर त्यसैबाट सेटलमेन्ट गर्ने भन्छन् जसले गर्दा राफसाफ गर्न गाह्रो हुने ब्रोकरहरू बताउँछन् ।

लगानीकर्तालाई पहिचान गर्ने र केवाइसी भर्ने ग्राहक बनाउने जिम्मा ब्रोकरकै हुनाले यसबाट हुने जोखिमको जिम्मेवारी पनि स्वयं ब्रोकरले नै उठाउनुपर्ने नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसी बताउँछन् ।

प्रवक्ता केसी भन्छन् “हामीले ग्राहकसँग न्यूनतम २५ प्रतिशत अग्रिम पैसा उठाउ भनेका छौं, आफ्नो ग्राहक पहिचान गरेर पुरानो कारोबार गरिआएका ग्राहक र ब्रोकरको सम्बन्धमा कत्तिको लचकता दिने भन्ने कुरा ब्रोकरमै भर पर्ने हुन्छ ।”

दोस्रो बजारमा सेयर कारोबार गर्दा ब्रोकर मात्रै होइन, लगानीकर्ता पनि समस्यामा हुने नेपाल इन्भेन्र्टस फोरमका निर्वतमान अध्यक्ष छोटेलाल रोनियार बताउँछन् ।

“ब्रोकरले पनि सेयर बेचेको ३ दिनमै भुक्तानी दिँदैन र सेयर किनेको भोलिपल्ट डिम्याटमा सेयर पनि पठाउँदैन,” रौनियार भन्छन् “कि ब्रोकरहरुले पनि एउटा नियम लिएर आउनु प-यो बैंक जस्तै पैसा छ भने किन्ने छैन भने नकिन्ने ।”

रौनियारका अनुसार लगानीकर्ता र ब्रोकरको दोहोरो कारोबार हुन्छ, सेयर किनेको पैसा नतिरेसम्म डिम्याटमा सेयर नै हाल्दैन ब्रोकरले अनि हामी किनेको सेयरको पनि भुक्तानी समयमा गर्दैन ।

नेपाल स्टक एक्सचेन्जले धितोपत्र कारोबार सञ्चालन नियमावली कार्यान्वयनमा ल्याएको छ । उक्त नियमावलीको दफा ८ मा सेयर किन्न आदेश दिने ग्राहकसँग सेयर किनिदिनुभन्दा अगाडि नै २५ प्रतिशत रकम लिनुपर्ने भन्ने व्यवस्था छ भने बाँकी रहेको ७५ प्रतिशत रकम सेयर किन्ने व्यक्तिले तिरेन भने के गर्ने भन्ने उक्त नियमावलीमा उल्लेख गरिएको छैन ।

उक्त नियमावलीको दफा १० ले सेयर किन्ने व्यक्ति र ब्रोकरबीच सेयर कारोबार सम्झौता गर्ने व्यवस्था गरेको छ ।

छिमेकी देश भारतमा सेयर बजार पूर्ण स्वचालित छ । त्यहाँ सेयर किन्न अर्डर हाल्ने बित्तिकै आफ्नो बैंक खातामा रहेको पैसा पर्याप्त छ–छैन भन्ने परीक्षण हुन्छ । खातामा भएको पैसाले सेयर किन्न पुग्ने अवस्था रह्यो भने मात्रै सेयर खरिद अर्डर स्वीकृत हुन्छ । र, त्यो बराबरको रकम बैंकले ‘एयरमार्क’ गरेर राख्छ । पछि राफसाफमा त्यही पैसा प्रयोग हुन्छ ।

अन्तर्राष्टिय प्रचलनमा आएको जस्तै नेपालमा पनि सेयर कारोबारमा अग्रिम भुक्तानी गरेर मात्रै सेयर किन्नको लागि अर्डर दिन मिल्ने व्यवस्था हुनुपर्ने केही ब्रोकरहरूको तर्क छ ।

(टक्सार म्यागजिन, मंसिर २०७८ मा प्रकाशित) 



प्रतिक्रिया दिनुहोस !