६ पुस २०८२, आइतबार

रन्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्यागको घोषणा

प्रकाशित मिति :  23 December, 2021 12:25 pm


काठमाडौं ।  विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गरेकी छन् । रञ्जुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी हुन् ।

विवेकशील साझा पार्टीको सचिवालय सदस्य पदमा रहेकी दर्शनाले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पनि पार्टी परित्याग गरेको जानकारी दिएकी छन् । उनले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा ‘अधिकतम ढोंग’ पाएको उल्लेख गरेकी छन् ।

अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीति रुपमा सक्रिय रहने उनले बताएकी छन् ।

सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको भन्दै उनले भनेकी छन्, ‘अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिस पनि गरें तर पूर्णरुपले सफा गर्न असमर्थ रहें । तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा बसेर थप फोहोर बढाउन सक्दिनँ ।’

उनले आफ्नो वक्तव्यमा विवेकशील साझा पार्टीभन्दा माथि देश हुने पनि बताएकी छन् । उनले पार्टीको जग असली हालेको भएपनि तला थप्ने क्रममा कमसल बन्न पुगेको टिप्पणी पनि गरेकी छन् ।

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको वकालत गर्ने गरी ‘विचारभन्दा माथि देश’को एजेण्डा पार्टीमा लागु गराएपछि साझा विवेकशीलमा विवाद देखिएको हो ।

‘वि.सं. २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग () पाएँ,’ उनले पत्रमा लेखेकी छन् ।

दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस !