बिकनी किलर चार्ल्स भन्छन् – बुढो भएँ रिहा गरी पाउँ
काठमाडौं । बिकनी किलरको रूपमा चर्चित फ्रान्सेली नागरिक चार्ल्स शोभराजले बुढो भएँ रिहा गरी पाउँ भनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका छन् ।
उनको सो निवेदन न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ ।
दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाए अनुसारको सजाय भुक्तान गरिरहेका शोभराजले आफू वृद्ध भएकोले सजायबाट उन्मुक्ति पाउनुपर्ने जिकिर सहित बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको सो निवेदन बिहीबार न्यायाधीश सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको हो ।
कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको विषयलाई टेकेर शोभराजले आफू ७७ वर्ष पुगिसकेकोले रिहा गरी पाउँ माग दाबी लिएर सर्वोच्च पुगेका हुन् ।
नेपालीका लागि यस्तो व्यवस्था भएपनि विदेशी नागरिकको हकमा कुनै प्रष्ट प्रावधान रहेको छैन् ।
४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानाडियाली नागरिक लरेन्ट केरिरेको हत्या अभियागमा शोभराजलाई फरकफरक मुद्दामा काठमाडौँ र भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । बिकनी किलर र सिरियल किलरजस्ता नामले चिनिएका शोभराजविरुद्ध नेपालबाहेक भारत, थाइल्यान्ड, टर्की, ईरान लगायतका देशमा २० जनाभन्दा बढीको हत्या गरेको अभियोग लागेको छ ।








