४ बैशाख २०८१, मंगलबार
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन

महराले खेल्लान् ‘पुरानो कार्ड’ ?

प्रकाशित मिति :  24 December, 2021 12:56 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन नजिकिएसँगै नेतृत्व बाँडफाँडको चर्चा चुलिएको छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प खोजेको नदेखिएपनि अन्य पदमा भने सबैजसो नेताहरूको ध्यान केन्द्रित भएको हो ।

पटक पटकको विभाजनले कमजोर भएका बेला ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निमार्णका लागि’ भनी राष्ट्रिय सम्मेलनको नारा तय गरिएको छ ।

सम्मेलनले माओवादी केन्द्रको भावी नेतृत्वको सिंढी तयार गरिँदै गरिएको छ । तीन दशकदेखि पार्टीको नेतृत्व गरिरहेका प्रचण्डले आफूले उत्तराधिकारी घोषणा नगर्ने सार्वजनिक कार्यक्रममा भनिसकेका छन् । त्यसैले प्रचण्डको ढल्किँदो उमेरकाबीच यो राष्ट्रिय सम्मेलनमा दोस्रो पुस्ताका नेताका लागि विशेष अर्थ राख्ने अडकल काटिन थालिएको छ ।

कार्यकारी पद भएकाले माओवादी केन्द्रमा महासचिवको चर्चा बढी छ । वरिष्ठता र अध्यक्ष दाहाल प्रचण्डको विश्वास पात्र भएकाले पनि सर्वोच्चबाट सफाइ पाएर कृष्णबहादुर महरा फेरि स्वभाविक दाबेदार भएर उदाएपनि त्यति सहज नभएको पार्टीभित्र चर्चा हुने गरेको छ ।

महरा महासचिव बन्न दुई नेता तयार हुनुपर्ने छ । ती हुन् वर्षमान पुन र जनार्दन शर्मा । दोस्रो पुस्ताका प्रभावशाली यी दुई नेतालाई अगाडी बढाउने वा भावी नेतृत्वमा महरालाई तयार गर्ने गरी संरचना मिलाउन सम्भवत : भूमिका प्रचण्डले नै खेल्ने छन् । प्रचण्डपछि पार्टी नेतृत्व हाँक्न महरा तयार गर्ने वा पुन र शर्मालाई ‘जम्प’ गराउने भन्ने संकेत यो सम्मेलनले गर्ने एकथरी अनुमान छ ।

महरा र पुनको गठबन्धन

शान्ति प्रक्रियामा आएपछि माओवादीभित्र अन्तरविरोध चर्कँदै थियो । प्रचण्डबाट अलग हुन मोहन वैद्य किरण र नेत्रविक्रम चन्द ‘विप्लव’ तयार बन्दै थिए । यसका लागि उत्प्रेरकको भूमिकामा थिए कृष्णबहादुर महरा । विप्लवलाई नयाँ पार्टी बनाउनका लागि महराले सँधै उत्प्रेरणा दिने गरेको पार्टीभित्रका जानकार नेताहरूको दाबी छ ।

पार्टी विभाजन रोक्नका लागि प्रचण्ड आफैले पनि पटक पटक प्रयास गरेका थिए । तर प्रचण्डका विश्वासपात्र मध्येका एक महराकै साथ पाउने भएपछि वैद्य र विप्लव उत्साहित भएका थिए । तर गृहमन्त्रीसहित सरकारमा जाने अवसर पाएपछि महरा फेरिएको वैद्य र विप्लवले चालै पाएनन् । जतिबेला चाल पाए तब वैद्य र विप्लव धेरै पर पुगिसकेका थिए । अन्तत ः२०६९ सालमा पार्टी विभाजन भयो ।

खासमा विप्लवले महरालाई बढी विश्वास गरेका थिए । माओवादी केन्द्रभित्र प्रभावशाली छवि बनाएका वर्षमान पुन र विप्लव दुवै महराका विद्यार्थी थिए । जनयुद्धमा महराले सँधै दुवै आफ्ना विद्यार्थीसँग चलखेल गर्ने गरेको आरोप थियो । कहिले विप्लव त कहिले वर्षमानलाई नजिक ल्याएर आफ्नो प्रभाव बनाइरहन्थे ।

शान्ति प्रक्रियामा आएपछि वर्षमान र महराले अवसर पाउन सुरु गरे भने विप्लव किनारा लागे । शान्ति प्रक्रियापछि वर्षमान र महरा सत्तापक्ष र विप्लव पक्ष प्रतिपक्षजस्तै बने । रोल्पाकै एक नेताले भने,“जब पार्टी फुट्यो र विप्लव नयाँ पार्टीमा गए अनि महरा सर जानुभएन त्यसले हामीलाई बल्ल आशंका भयो कि विप्लवलाई पार्टीबाट धकेलेर एकलौटी बनाउने प्रयास पो हो    कि ?”

वास्तवमा रोल्पामा महरा र वर्षमानको चुनौती विप्लव थिए । पार्टीबाटै धकेलेपछि रोल्पा एकलौटी हुन सक्थ्यो । नभन्दै विप्लव धकेलिएपछि महरा र वर्षमानको प्रभावमा रोल्पा निरन्तर छ ।

माओवादी केन्द्रका ती नेताले भने,“वास्तवमा महरा सर र अनन्त कमरेड मिलेर विप्लवलाई बाहिर धकेलेको जस्तो भयो यद्यपि यथार्थ त उहाँहरूले जान्ने कुरा भयो ।” जे भएपनि पार्टी विभाजनका बेला वर्षमानसँग गठबन्धन थियो । अहिले विप्लवलाई पार्टीमा भित्राउन महरा लागेको चर्चा हुने गरेको छ । प्रतिबन्ध फुकुवापछि विप्लवले भेटेका पहिलो माओवादी केन्द्रका नेता पनि महरा नै थिए ।

पछिल्लो समय महरा र विप्लवको हिमचिम अलि बढी देखिन्छ । माओवादी केन्द्र स्रोत टिप्प्णी गर्छ,“राष्ट्रिय सम्मेलनको मुखैमा वर्षमान कमरेडलाई तर्साउने चलखेलपनि हुन सक्छ किन भने उहाँको त्यो पुरानै शैली हो ।”

पुरानो कार्डले काम गर्ला ?

जनयुद्धमा आफू निकट र आफ्ना विद्यार्थीलाई महराले प्रचण्ड,मोहन वैद्य र बाबुराम भट्टराईको चरित्र र शैलीबारे प्रशिक्षण दिन्थे यो शैलीले युद्धकालमै ‘महरा लबी’का जनशक्ति तयार गरेका थिए ।

खास गरी वर्षमान र विप्लवसँग खेल्दा ‘महरा लबी’ बढी प्रयोग हुन्थ्यो । अब महरासँग विप्लव छैनन् । आन्तरिक रूपमा उनी कि त वर्षमानसँग भिड्नुपर्ने छ या त विप्लवको ठाउँमा जनार्दन शर्मालाई राखेर कार्ड खेल्नुपर्ने छ ।

माओवादी केन्द्रभित्र महरा, पुन र शर्मा तीन जना सबै शक्ति खेलेको र चाखेका व्यक्ति हुन् । यी तीनजनाबीचको शक्ति सन्तुलनले नै माओवादी केन्द्रको पार्टी जीवन प्रभावित पार्ने छ ।

अब राष्ट्रिय सम्मेलनबाट कि सन्तुलन मिलाएर महरा आफै कार्यकारी भूमिकामा रहनुपर्ने छ कि वर्षमानसँग मिलेर शर्मालाई रोक्नुपर्ने छ या त शर्मा चुनौतीका रूपमा आउने छन् ।

 



प्रतिक्रिया दिनुहोस !