२८ मंसिर २०८२, आइतबार

ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनयापनमा ध्यान दिनु जरुरी : प्रधानमन्त्री देउवा

प्रकाशित मिति :  26 December, 2021 3:20 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर व्यक्त गर्नु तथा उनीहरूले विगतमा गरेका कार्य र योगदानप्रति कृतज्ञता व्यक्त गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन् ।

प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस दिवसले समाजमा ज्येष्ठ नागरिकप्रति आदर, सद्भाव र सम्मान वृद्धि गरी उनीहरुको सुरक्षित र मर्यादित जीवनयापनमा जोड दिन हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

विसं २०५१ देखि पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिए पनि सरकारको निर्णयानुसार पहिलोपटक देशव्यापीरूपमा ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।

विश्वमा नै दिन प्रतिदिन बढ्दै गएको ज्येष्ठ नागरिकको सङ्ख्यालाई उचित व्यवस्थापन गरी उनीहरूको जीवनयापनलाई सहज र सम्मानित बनाउने साझा दायित्व हामी सबैको रहेको उल्लेख गर्दै उहाँले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको सुनिश्चितता गरिनु पर्दछ भन्ने मान्यताका साथ नेपालको संविधानमा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण र सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको बताए।

ज्येष्ठ नागरिकको स्वस्थ, सम्मानित र मर्यादित जीवनयापनमा सहजीकरण गर्ने उद्देश्यले विभिन्न कानूनी र नीतिगत व्यवस्था कार्यान्वयनमा रहेको र समयको परिवर्तनसँगै यसलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउँदै जान आवश्यक रहेकामा प्रधानमन्त्रीले जोड दिए ।

ज्येष्ठ नागरिक हाम्रो समाजका अग्रज मात्र नभएर मार्गदर्शक व्यक्तित्व, प्रेरणाका स्रोत र गौरवका प्रतीक हुन् भन्ने वास्तविकतालाई मध्यनजर गरी जीवनको उत्तराद्र्धमा उनीहरूको पालनपोषण र संरक्षणको उचित व्यवस्था गर्नु हामी सबैको अनिवार्य कर्तव्य रहेको प्रधानमन्त्री देउवाले  बताए ।

प्रधानमन्त्रीले आव २०७८÷७९ देखि ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरी स्वास्थ्योपचार समेतका लागि मासिक रु चार हजार उपलब्ध गराउँदै आएको र रु एक लाखसम्मको उपचार खर्चकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले पहिलोपटक देशव्यापीरूपमा मनाउन लागेको राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले सम्पूर्ण ज्येष्ठ नागरिकमा सम्मान व्यक्त गर्दै उनीहरुको सुख, आरोग्य र मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !