२८ मंसिर २०८२, आइतबार

राजा वीरेन्द्र शाहको ७७औँ जन्मजयन्ती, ललितपुरमा दीप प्रज्वलन, सुर्खेतमा शालिक पुनःस्थापना

प्रकाशित मिति :  29 December, 2021 9:49 pm


ललितपुर । वीरेन्द्र शान्ति प्रतिष्ठानले शान्तिप्रेमी राजा वीरेन्द्र शाहको ७७औँ जन्मजयन्तीको अवसरमा मुलुकमा शान्तिको कामना गर्दै जवलाखेलमा आज दीप प्रज्वलन गरेको छ ।

प्रतिष्ठानले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा स्व. शाहले पु-याएको योगदानको स्मरण गरेको छ । 

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई अन्तर्राष्ट्रिय तहमा फरक पहिचान बनाउन शान्ति क्षेत्रको प्रस्ताव गरेका स्व राजा वीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्षधर भएको बताए । उक्त प्रस्तावका पक्षमा ११६ राष्ट्रले हस्ताक्षर गरेका जनाइएको छ ।

जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले सरल स्वभावका राजा वीरेन्द्रले विसं २०४६ मा बहुदलको पुनःस्थापना गरी प्रजातन्त्रको पक्षधर भएको पुष्टि गर्नुका साथै सुशासन कायम गर्न प्रयत्नशील व्यक्तित्वका रूपमा छवि बनाएकाले शान्तिप्रेमी, असल कूटनीतिज्ञ र राष्ट्रवादी नेताका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए । 

उनले राजा वीरेन्द्रले राष्ट्रवादी आदर्श र योगदानको उच्च मूल्याङ्कन गरी देशमा विधिको शासनका माध्यमबाट जनताको उन्नति गर्न सकेमा उहाँप्रतिको सच्चा सम्मान हुने विचार व्यक्त गरे।

उक्त स्थानमा रहेको वीरेन्द्रको सालिकमा माल्यार्पण गरिएको थियो । विसं २००२ पुस १४ जन्मनुभएका राजा वीरेन्द्रको विसं २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्डमा वंश नाश भएको थियो । 

शालिक पुनःस्थापना

विवादका बीच सुर्खेतको वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले २०६२÷६३ सालको जनआन्दोलनका क्रममा भत्काइएको शालिक आज पुनःस्थापना गरेको हो ।

वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक राख्ने÷नराख्ने विषयमा यहाँ ठूलो विवाद थियो । विवादकै बीच स्वर्गीय राजा वीरेन्द्रको ७७ औँ जन्मजयन्तीका अवसरमा उक्त समूहले एक्कासि अर्धकदको शालिक राखेको हो ।

यस समूहको अगुवाई गोरक्ष पीठाधीश योगी बलभद्रले गर्नुभएको छ । दुई वर्षअघि चौक पुनः निर्माण गर्दा स्थानीयवासीले शालिक पुनःस्थापना गर्न वीरेन्द्रनगर नगरपालिकालाई दबाब दिएका थिए तर नगरपालिका भने राजनीतिक सहमति बेगर भत्काइएको शालिक पुनःस्थापना गर्न नसकिने भन्दै पन्छिँदै आएको थियो ।

योगी बलभद्रले वीरेन्द्रनगरको इतिहास जोगाउन शालिक पुनःस्थापना गरिएको बताए । “राजा वीरेन्द्रकै नामबाट सुर्खेत उपत्यकाको नाम वीरेन्द्रनगर राखियो, राजाले मन पराएर यहाँको गुरुयोजना बनाए, त्यही गुरुयोजना अनुसार वीरेन्द्रनगरको विकास भइरहेको छ,” उनले भने, भन्नुभयो, “राजाको भूमिका जे जस्तो भए पनि इतिहास मेट्न पाइँदैन, त्यही भएर हामीले व्यक्तिगत लगानीमा शालिक राखेका हौँ ।”

राजा वीरेन्द्र सुर्खेत आएका बेला २०४४ सालमा मुख्य बजार चोकलाई ‘वीरेन्द्रचोक’ नामकरण गर्दै आफ्नै शालिक अनावरण गर्नुभएको गरेका थिए।

 



प्रतिक्रिया दिनुहोस !