२५ श्रावण २०७९, बुधबार

सम्मानको आत्मरतिमा रमाउने पत्रकारिता कि सम्मानित पत्रकारिता ?

प्रकाशित मिति :  13 January, 2022 3:41 pm


सञ्जय पन्थी

एक पटक भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू (पण्डित) सडक मार्ग भएर राजस्थान पुग्दा डरलाग्दो डाँकुहरूको एक गिरोहले घेरेको थियो ।

पण्डितजी अजमेरबाट कारमा उदयपुर जाँदै थिए । उनको गाडी बीच बाटोमा रोकियो । सबै डराए तर पण्डितजी आरामसँग गाडीमा नै बसिरहे । गाडी बुलेटप्रुफ पनि थिएन। गिरोहका डरलाग्दो सरदार डाँका लक्ष्मणसिंह खैरवा पण्डितजीको नजिक पुगे । नेहरू जीले सोचे कि लुट्नु बाहेक अरु के गर्ने ?

डाँकाको धर्म लुट्ने हो । र त्यहाँ कुनै शत्रुता छैन जसले जीवन लिन सकोस । एकाएक दृश्य फेरियो । लुट्नुको साटो सरदार लक्ष्मण सिंह खैरवा पण्डितजीको खुट्टामा परे । सबै डाँकुहरू पण्डितजीका फ्यान थिए र उहाँलाई अगाडि देखेर धन्य महसुस गरिरहेका थिए। त्यतिबेला भारत निकै गरिबी अवस्थामा थियो । त्यसो त गरिबहरू अझै पनि छन् ।

लुटेराको सरदारले प्रधानमन्त्री नेहरूलाई त्यत्तिकै मा १० हजार रुपैयाँको झोला दिने इच्छा व्यक्त गर्यो । तर पण्डितजीले मानेनन् । त्यसपछि नेहरूसँगै रहेका नेता मुकुट बिहारीलाल भार्गवले उनलाई डाका खैरवा प्रसिद्ध क्रान्तिकारी गोपाल सिंह खैरवाको (कांग्रेस विरोधी) नजिकको नातेदार भएको जानकारी गराए । उनलाई क्रान्तिकारीहरूले उपयोग गरेका थिए ।

मानिसको हाउभाउ र बडी ल्यांगवेज बुझ्न माहिर नेहरूले उल्टै सरदार खैरवालाई देशभक्तिको पाठ सिकाए, अनि नतमस्त तुल्याएर त्यहाँबाट हिडे । यहाँ यो कथा प्रस्तुत गर्नुको कारण यतिबेला नेपाल पत्रकार महासंघको बैठक कपिलवस्तुमा हुन गैरहेको छ । जहाँ पत्रकारितामा खैरवा प्रवृति हाबी छ ।

त्यसले पत्रकारिता पेसा नै नैतिक संकट अवस्थामा छ । त्यसको साक्षी जिल्लाका अग्रज नारायण पौडेल र मनोज पौडेल छन् । जिल्लामा उनीहरूले भोग्नु परेका तीता अनुभव सुनेको आधारमा यहाँ उनीहरूलाई प्रस्तुत गरिएको हो । जो जिल्लाको पत्रकारिताका अभिभावक पनि हुन् ।

जिल्लामा अगमन भएको महासंघका पदाधिकारीलाई खुशी तुल्याउन आयोजक मध्येका स्वार्थी समूहले खैरवाको शैली नअपनाउला भन्न सकिन्न । एउटा उदाहरण जिल्लामा ०६४ सालदेखि केन्द्रमा जस्तै भागबण्डा गरेर महासंघमा सदस्य थपिँदै आएको छ । त्यो पनि ठेकदार शैलीमा, त्यतिले मात्र नपुगेर केन्द्रका प्रतिष्ठानमा निकटका एस म्यानहरुको फारम भरिदिएर त्यहाँबाट सदस्यता प्राप्त गरेपछि जिल्लामा स्थानान्तरण गर्ने धन्दा जारी छ । त्यति भएपछि जिल्लाको नेतृत्व सधैँ आफ्नो कब्जामा राख्न सकिन्छ ।

नेतृत्व कब्जामा भएपछि राजनीतिक नेतृत्वलाइ समेत बार्गिनङ गर्न सकिन्छ भन्ने थ्योरी यहाँ स्थापित भएको छ । त्यसका लागि आगामी दिनमा पनि महासंघको नेतृत्व दाहिना हुनुपर्छ । त्यसैले पनि खैरवा शैलीमा जिल्ला पुगेको महासंघ नेतृत्वलाई खुशी तुल्याउन एउटा समूह अवश्य क्रियाशील रहने छ,भन्ने अनुमान सजिलै लगाउन सकिन्छ ।

अर्काे जिल्लामा संख्यात्मक रुपमा पत्रकारको जमात ठूलो छ । त्यस मध्ये नगण्य अनुहार मात्र पत्रकार भनेर समाजले    चिन्दछ । सत् चरित्रका पत्रकार नगण्य नै छन् । ठूलो समूह राजनीति देखि ठेक्का र सट्टामा क्रियाशील छ । उनीहरुको उद्देश्य जसरी हुन्छ, बिना मेहनत द्रव्य संकलन गर भन्ने नै हो । त्यसका लागि उनीहरूले अनेक फण्डा गरिरहेका हुन्छन् ।

जिल्लाको पत्रकारिताको इतिवृतान्त सुनिसके पछि वर्तमान प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले जिब्रो टोक्दै भारतको बिहारको सीमावर्ती पट्रोल असुल गर्ने जिल्लासँग तुलना गरेका थिए । भन्नुको अर्थ पत्रकारिता कसरी दुरुपयोग भैरहेको छ, भन्ने चिन्ता र चासो प्रकट गर्ने क्रममा बस्नेतले त्यस्तो तुलना गरेका थिए ।

त्यसो त जिल्लाका पुराना पत्रकार श्याम क्षेत्री रोजगारीका क्रममा जापान पुगेका छन् । क्षेत्रीले पत्रकारिता पेसासँग आत्मीयता रहेपनि रोजी रोटी चल्ने अवस्था नभएपछि जापान पुग्नु परेको सुनाए । कुनैबेला मिर्जादिल सादवेगका गतिविधि विरूद्ध समाचार लेखेको अनुभव सुनाउँदै भने यतिबेला स्थलगत रूपमा जिल्लामा देखिएका विकृति विरूद्ध समाचार लेख्न सक्ने अवस्था नरहेको अनुभव सुनाए ।

कारण कतिपय पत्रकारहरू भनिएका हरूकै चरित्र घातक रहेको उनले बताए । महासंघ नेतृत्वले जिल्लामा पत्रकार महासंघका भवन कति छन् भनेर बुझनु भयो भने आफै छक्क पर्नु हुनेछ । सदरमुकाम तौलिहवासहित अन्य दुई स्थानमा निर्माण सम्पन्न भैसकेका छन् ।

निर्माणको स्रोत थाह पाउनु भयो काउन्सिल अध्यक्ष बस्नेतले जसरी जिब्रो नै टोक्नु हुनेछ । बाँकी त्यत्ति नै स्थानमा निर्माणको योजनामा छन् भन्ने जानकारीमा आएको छ । भवन किन यसरी बनाइन्छ ? जिज्ञासा हुन सक्छ, स्थानीय निकायबाट आर्थिक सहयोग लिन । त्यति मात्र नभएर हार्डवेयर र डिलरसिपका धन्दा छन् । त्यति भएपछि २०देखि४० लाखसम्मको व्यापार चलाउन सहज नै हुने भयो । त्यसबाट आउने कमिसनले सिमित समूह पार्टी र भ्रमणमा रम्ने गरेको सुन्नमा आएको छ । त्यति मात्र नभएर भ्रष्ट जनप्रतिनिधिलाई पक्षपोषण गर्न समेत महासंघ उपयोग हुने गरेको छ ।

पत्रकारहरु नै स्थानीय निकायमा प्रेस सल्लाहकार देखि तलबी कर्मचारी बन्नु सामान्य छ । जिल्लामा पत्रकार भनेपछि कुनै मान,सम्मान र इज्ज्त छैन् । जिल्ला कै एक सामुदायिका एफएमका संस्थापक स्टेशन म्यानेजर प्रेम नारायण पौडेलको अनुभव सुन्न लायक छ । उनी भन्छन्, तीस वर्ष कृषि विकास बैंकको जागिरे जीवनमा कमाएको मान प्रतिष्ठा घर नजिकको एफएममा स्टेशन म्यानेजर बन्दा धुलिसात हुने अवस्था आयो, त्यसैले राजनीनामा दिए । उनले भने म म्यानेजर संचार संस्थाको कुरा मात्र नभएर जिल्लाको समग्र पत्रकारिताको अवस्थालाई मैले ईगिंत गर्न खोजेको हुँ ।

उनको सुझाव छ, पेसामा देखिएको विकृतिका बारेमा नेतृत्वले ध्यान दिन सकोस । उनले थप स्पष्ट पार्दै त्यसो भन्दैमा राम्रा पत्रकार र पेसाको सम्मान छैन् भन्न खोजेको नबुझियोस । उनले जिल्लाको यर्थाथलाई औल्याएका हुन् । त्यसो त गत असारमा प्रदेश सरकारको बजेट आउँदा ५ करोड भन्दा धेरै निजी एवं दलीय सामुदायिक संचार संस्थालाई विनियोजन गरिएको समाचार प्रकाशमा आएकै हो । त्यस मध्ये कपिलवस्तुमा कुन संस्थामा कुन पहुँचबाट कति बजेट पारियो भनेर स्थानीयस्तरमा चियो गर्दा तथ्य पक्कै जानकारी हुनेछ ।

जिल्लामा १० स्थानीय निकाय छन्, त्यहाँको प्रशासन र आर्थिक प्रशासनको अवस्था भयावह नै छ । कतिपय पालिकामा ३ सय ६८ दिन मानेर भत्ता नै बाडिएको तथ्य महालेखाले आंैल्याएको छ । त्यस्तो अवस्थामा समाचार लेख्नुको सट्टा महासंघको केन्द्रीय समितिको बैठक छ, हामीलाई आर्थिक सहयोग उपलब्ध गराउ भनेपछि पत्रकारिताको स्तर कहाँ पुग्ला ?

अहिले बैठक सम्पन्न गराउन त्यसरी नै आर्थिक संकलन गरियो भन्ने सम्मको जानकारी आएको छ । त्यस्तो स्रोत परिचालन गरेर मोफसलमा महासंघको बैठक सम्पन्न भयो भनेर गर्व गर्नु,कति न्योचित हो ? त्यसो त केन्द्रको अवस्था पनि फरक त छैन् ।

हालै सम्पन्न मिडिया अर्वाड वितरण समारोहले पत्रकारिता जगतको अवस्था छताछुल्ल नै भएको छ । त्यसैले महासंघका पदाधिकारी चाकडी,चाप्लुसी चरित्रबाट सावधान रहोस भन्ने कामना । मोफसलमा पुगेको महासंघ नेतृत्वले नेहरू शैली अपनाउने वा सम्मानको आत्मरतिमा रमाउने जिम्मा महासंघ पदाधिकारीलाई नै । (पन्थी, कपिलवस्तुबाट ०६४ सालमा विस्थापित पत्रकार हुन् ।)



प्रतिक्रिया दिनुहोस !