२६ बैशाख २०८१, बुधबार

कोरोनाका कारण स्थगित पाचौं कृषि यान्त्रिकरण मेला चैत ९ देखि हुने

प्रकाशित मिति :  21 February, 2022 12:07 pm


काठमाडौं । आउदो चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा ‘सलोम एग्रिकल्चर पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ हुने भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजना सम्पन्न हुने मेलामा कम्तिमा २० मुलुकका कृषि यन्त्र एकै थलोमा अवलोकन गर्न पाइने भएको हो ।

संघले आज सोमबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै ‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ मुल नाराकासाथ कृषि यान्त्रिकरण मेला हुन लागेको संघका अध्यक्ष खोजराज कटुवालले बताए । भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा १५० भन्दा बढि प्रदर्शनीकर्ताका २ हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु प्रदर्शनीमा राखिने उनले बताए ।

प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहने छन् ।

प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि. रहेको छ । प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी लि. र मुक्तिनाथ विकास बैंक रहेका छन् । यता सहप्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एण्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सी ग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् ।

मेलाका सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन रहेका छन् । मेलाको सञ्चार सहयोगी संस्था एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र नेपाल कृषि पत्रकार महासंघ रहेका छन् इभेन्ट संसारले मेलाको व्यवस्थापन गर्ने बताइएको छ ।

प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने छन् । करिब ७० जिल्लाका १ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको सो प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अनुमान संघको छ ।

संघले यसअघि २०७० मा चितवनमा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो । यसैगरी २०७२ मा बाँकेको कोहलपुरमा दोस्रो प्रदर्शनी, २०७४ मा धरानमा तेस्रो प्रदर्शनी र २०७६ मा चितवनमा चौथो कृषि यान्त्रीकरण प्रदर्शनी संघले आयोजना गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !