विवेकशील साझाबाट काठमाडौंको मेयरमा समीक्षा र उपमेयरमा कीर्ति उम्मेदवार
काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंको मेयर र उपमेयरमा दुई महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको विवेकशीलका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने मुल नाराका साथ दुईजनाको नाम टुंग्याएको विवेकशीलले जनाएको छ ।
मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौं स्कूल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छन् ।
उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन् ।उपमेयरमा अघि सारिएकी कीर्ति पार्टीकी केन्द्रीय सदस्य छिन् ।
उनी नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्षमध्येकी एक हुन् । शिक्षामा स्नातकोत्तर गरेकी ६२ वर्षीया कीर्ति अन्तर्राष्ट्रिय जेसीजको दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष रहेको विवेकशील साझाले जनाएको छ ।








