कर्णालीमा सत्ता साझेदार दल सहमतिको अन्तिम प्रयासमा
कर्णाली । कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ ।
नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने गरी सहमति भएको छ । बाँकी जिल्लाको भागबण्डा मिलाउन सहमतिको लागि अन्तिम प्रयास भइरहेको छ ।
अध्यक्ष केसीले जुम्ला सहमतिको नजिकमा पुगेको जानकारी दिइन। उनले भनिन, “रुकुमपश्चिम, सुर्खेत र कालिकोट जिल्लाको भागबण्डा मिलाउन भने गठबन्धन दलबीच सघन छलफल भइरहेको छ । यसका लागि अब बैठक बस्दैछौँ र आजै जसरी पनि टुङ्ग्याउँछौँ ।” वडास्तरको भागबण्डा भने गठबन्धन दलका जिल्ला पार्टीले नै मिलाउने उनले बताइन्।
नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले मनोनयन दर्ताको समयलाई मध्यनजर गरेर जसरी भए पनि गठबन्धन दलको तालमेललाई सहमतिमा लैजाने जानकारी दिए । “हामी गठबन्धन दलको केन्द्रको निर्णयानुसार सहमति गर्ने गरी गहन छलफलमै छौँ”, सभापति शाहीले भने, “जे–जसो गरे पनि आज नटुङ्ग्याई सुखै छैन । विश्वास छ, हामी सार्थक निर्णयमा पुग्छौँ ।”
नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष अमर थापाले पनि गठन्धन दलभित्र तालमेलको सहमति जुटाउन अन्तिम कसरत थालिएको बताए । अध्यक्ष थापाका अनुसार आजै मनोनयन दर्ता गरी सहमतिको टुङ्गोमा पुर्याउने प्रयास भइरहेको छ । रासस








