१२ श्रावण २०८१, शनिबार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध परीक्षण सफल,ऊर्जामन्त्री पुनद्धारा निरीक्षण

प्रकाशित मिति :  22 March, 2020 6:43 pm


दोलखा, ९ चैत । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलको परीक्षण सफल भएको छ ।
दोलखाको लामाबगरमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवक्र्सको काम सम्पन्न भएसँगै बाँधमा पानी थुनेर एक सातादेखि गरिएको परीक्षण सफल भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

फाईल फोटो

ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले आयोजनाको आइतबार निरीक्षण भ्रमण समेत गरेका छन् । तामाकोसीको बाँध तथा ९सिन्डिकेटर बेसिन० बालुवा थिग्र्याउने पोखरीको प्राविधिक परीक्षण सुरु भएपछि मन्त्री पुन निरीक्षणमा गएका हुन् ।

एक सातादेखि पानी थुनेर गरिएको परीक्षणमा सिभिलका सबै संरचनाहरु टोलरेन्स लेभलमा रहेको, पानी लिकेज कम रहेको र बाँध क्षेत्रको परीक्षण सफल भएको प्रवक्ता न्यौपानेले बताए । निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको हेडवक्र्सअन्तर्गतको बाँध, गेट, स्टपलग आदिको परीक्षण सफल भएसंँगै आयोजना बालुवा थिग्र्याउने पोखरीको परीक्षण गर्ने तयारीमा लागेको छ । सुरुङको परीक्षणपछि अन्तमा पेनस्टकको परीक्षण गरिने र त्यो सफल भए मात्र विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

अहिलेसम्म ९९ दशमलव चार प्रतिशत निर्माणको काम सकिए पनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काममा केही ढिलाइ भएका कारण आयोजना सम्पन्न हुन सकेको छैन । ठाडो सुरुङको दुईवटा भागमध्ये तल्लो ठाडो सुरुङ ३७३ मिटर लामो र माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो रहेको छ । अहिलेसम्म तल्लो ठाडो सुरुङमा २६० मिटर पेनस्टक पाइप जडान भएको र माथिल्लो ठाडो सुरुङमा १५० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले जनाएको छ ।

विसं २०६७ देखि मुख्य सिभिल निर्माण कार्यको शुरुआत गरिएको यो आयोजनाले २०७२ जेठ महिनामा पहिलो युटिनबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको थियो । विसं २०७२ वैशाखको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।

बाँध, सुरुङ र पावर हाउसको निरीक्षणपछि ऊर्जामन्त्री पुनले निर्धारित समयमै बाँकी काम सम्पन्न गर्न आयोजनाका पदाधिकारी, निर्माण कम्पनी र परामर्शदातालाई निर्देशन दिएका छन् ।

गोरखा भूकम्पलगायत कारण आयोजना निर्माणमा ढिलाइ भए पनि अब भने समयमै काम सक्नुपर्ने उनको भनाई थियो । परीक्षणका काम चालु आर्थिक वर्षमै सक्ने र आगामी असारसम्ममा परीक्षण उत्पादन थाल्ने गरी काम अघि बढाउन मन्त्री पुनको निर्देशन थियो ।

काम गर्ने सिलसिलामा आइपर्ने जस्तोसुकै व्यवधान हटाउन सरकार तयार रहेको भन्दै उनले काम भने तोकिएकै समयमा हुनुपर्नेमा जोड    दिए । सरकारको मात्र नभई दोलखा, रामेछापसहित देशैभरका सर्वसाधारण, निजामति र जङ्गीतर्फका कर्मचारीको समेत लगानी रहेकाले निर्माणका काममा ढिलाइ हुन नहुने मन्त्री पुनको स्पष्ट निर्देशन थियो । उनले समस्या परे तत्काल आफूलाई खबर गर्न आयोजनाका अधिकारीलाई आग्रह गरे।

‘माथिल्लो तामाकोशीमा सरकारको मात्र होइन, शेयरमार्फत जनताको ठूलो लगानी परेको छ’, मन्त्री पुनले भने, ‘धेरै काम भएको छ, अब बाँकी काम जसरी भए पनि समयमै हुनुपर्छ ।’ थोरै भए पनि संवेदनशील र चुनौचीपूर्ण काम बाँकी रहेकाले प्राविधिक कमजोरी नगर्न पनि मन्त्री पुनले सचेत गराए ।

मन्त्री पुनसँगै निरीक्षणमा जानुभएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले धेरै जटिलता र कठिनाइबीच आयोजना निर्माणको काम अन्तिम चरणमा पु¥याएकामा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई धन्यवाद दिए । दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङले देशकै सबैभन्दा ठूलो आयोजना जिल्लामा बन्नु दोलखाकासीका लागि खुसीको कुरा भएको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !