१५ चैत्र २०८०, बिहिबार

विगतमा थालिएका कामलाई पूर्णता दिँदै नयाँ योजना अघि बढाउँछौं (अन्तर्वार्ता)

प्रकाशित मिति :  25 May, 2022 10:48 am


धुनिवेशी नगरपालिकामा हालै सम्पन्न निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनले प्रमुख र उप–प्रमुखसहित नौ वटै वडामा समेत विजय हासिल गरेको छ । नवनिर्वाचित धुनिवेशी नगरपालिका प्रमुख (मेयर) बालकृष्ण आचार्य आफू निवर्तमान मेयरसमेत रहेकाले अन्यको तुलनामा अझ राम्रो धुनिबेशी बनाउन सकिने दाबी गर्छन् । उनी धुनिवेशी नगरपालिकाकै पहिलो प्रमुख हुन् । २०७४ को चुनावमा आचार्य नेकपा एमालेका तर्फबाट विजयी भइ नगर प्रमुख बनेका थिए । यस पटकको निर्वाचनमा भने उनीले गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट उम्मेवारी दिई विजय हासिल गरेको छन् । नवनिर्वाचित नगर प्रमुख आचार्यसँग धुनीवेशी नगरपालिकाको विकासलगायतका विषयमा केन्द्रीत रहेर लुम्बिनी सञ्चारकी संवाददाता अस्मिता धितालले गरेको कुराकानीको सम्पादित अंशः 

धुनिवेशी नगरपालिकाको पहिलो नगरप्रमुख भएर तपाइँले के कस्ता उल्लेख्य कार्यहरू गर्नुभयो जस्तो लाग्छ? 

धुनिवेशी नगरपालिकाको सुरुवात भएका कारण पनि कुनै पूर्र्वाधारहरू थिएनन्, जसले गर्दा पूर्वाधारहरूको निर्माण, समयमै कानुन तथा नीतिनिर्माण, कार्यविधि  निर्माण, कर्मचारी व्यवस्थापन गर्न र नयाँ संरचना बनाउनमै धेरै समय खर्चिनु प¥यो । त्यसपछि हामीले स्वास्थ्य, शिक्षा र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम ग¥यौ । यसमा पनि हामीले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर चार–पाँच घण्टा हिँडेर, डोकोमा गाग्री हालेर कष्टसाथ ल्याएर पानी खानुपर्ने समस्या भएको वडा नम्बर ४ को जीवनपुर, वडा नम्बर ७ को  तोप्लाङ र चिसापानी लगायतका सम्पूर्ण ठाउँमा ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गरेर खानेपानी पुर्‍याउन सफल भयौं । धुनिवेशी नगरपालिकामा कसैले पनि ‘एक घर एक धारा’को धारणा अघि सारेका थिएनन् । हामी आएपछि झन्डै ६० प्रतिशत घरमा ‘एक घर एक धारा’को व्यवस्थापन गरेका छौँ । 

दोस्रो हाम्रो नगरपालिकामा एउटा पनि एम्बुलेन्स थिएन, ल्याब थिएन, स्वस्थ्य क्षेत्र हाम्रो तहसनहस थियो । सिटामोल पनि भनेको बेलामा पाउने अवस्था थिएन । अहिले हामीले तीनवटा एम्बुलेन्स खरिद गरेर धुनिवेशीका नागरिकलाई काठमाडौंका ठूला हस्पिटल लैजानको र यहाँ भएका स्वास्थ्य केन्द्रमा लैजानको लागि निःशुल्क सेवा दिदैँ आएका छौँ । हामीले दमकल सेवा सुचारु गरेका छौँ । व्यवस्थित कृषि बनाएर संकलन केन्द्रहरू निर्माण गरेका छौं । 

हामीले विगतमा सुरु गरेका कामहरूमध्ये अझै शिक्षामा धेरै सुधार गर्नुपर्ने छ । हाम्रो शिक्षा ऐन आएको छैन, केन्द्रले दिनुपर्ने ऐन नआएका कारण हामीले आफ्ना कार्यक्रम योजना अगाडि सार्न सकेको छैन । शिक्षा–स्वास्थ्यमा थाँती रहेका कामबाहेक र झन्डै ४० प्रतिशत घरधुरीमा खानेपानी पुर्‍याउनु छ । हामीले विगतमा सुरु गरेका कामलाई पूर्णता दिने र नयाँ कामका साथ अघि बढ्ने योजना छ ।

तरकारी संकलन केन्द्रहरू कहाँ कहाँ निर्माण सम्पन्न भए र कहाँ कहाँ हुदैछन् नि? 

तरकारी संकलन केन्द्रहरू वडा नम्बर ५, २ र ८ मा बनिसकेमा छन् । वडा नम्बर २ मा वृद्धावृद्धको लागि स्थल  र नगरको प्रशासकीय भवने कही नभएका कारण वडा. नम्बर ९ मा भवन बन्दै छ । सम्पूर्ण वडा भवनहरू बन्ने क्रममा छन् ।

शिक्षा क्षेत्रमा के कस्ता कार्य गर्नुभयो?

माध्यामिक तह पढ्न विद्यालय जान पाँच छ घण्टा हिँडनु पर्ने, यसकै कारण पढाई बीचैमा छाडेर जानुपर्ने बालबालिकाहरूलाई सेवा दिनको लागि मछिन्द्रनाथ माध्यमिक विद्यालयमा आवासीय व्यवस्था सञ्चालन गरेका छौँ । गएको वर्ष १० जना विद्यार्थीलाई कृषि–प्राविधिक शिक्षा र पशु–प्राविधिक शिक्षाको लागि तीन वर्षे कोर्स गर्न लाग्ने सम्पूर्ण खर्च गरिरहेको छ । यति मात्रै नभइ कृषि प्राविधिक शिक्षा सञ्चालनका लागि भुवनेश्वरी माविमा काम अन्तिम चरणमा पुगिसक्यो । 

हामीले यति मात्रै नभइ रोजगारमूलक शिक्षाको लागि विभिन्न तालिमहरू दिँदै आएका छौँ । सीटीईभीटीबाट स्वीकृति लिएर छ महिने वेल्डिङ तालिम, गलैँचा, ढाका बुन्ने तालिम दिएर अहिले व्यवसाय नै सुरु गरिसकेका छन् । विभिन्न तालिम केन्द्रहरू निर्मार्ण गरेका छौँ । तालिम केन्द्रहरूका कुरा गर्दा वडा नम्बर ५ को ढकाल खोलामा र प्राविधिक शिक्षा तालिम केन्द्र वडा नम्बर ७ मा बनाएका छौँ । हामीले युवाको लागि राष्ट्रिय स्तरको खेल मैदान, धुनिवेशी परिवार अट्नसक्ने पार्क यस्ता  हामीले थुप्रै  नयाँ कामहरू नयाँ संरचनाहरू बनाएका छौँ । हामीले सबै उपलब्धीमूलक कामहरू गर्न सफल भएका छौँ ।

अब पाँचवटा सडकमा कालोपत्रे गर्ने र कृषि बजारीकरणको लागि राष्ट्रिस्तरको बजार बिक्री केन्द्र बनाउने, हरेक वडामा संकलन केन्द्र बनाउने योजना छ ।

अहिले पुनः निर्वाचित हुनु भएको छ । अब गर्ने प्रमुख कामका योजना के के छन् ?

हामीले विगतमा सुरु गरेका कामहरूमध्ये अझै शिक्षामा धेरै सुधार गर्नुपर्ने छ । हाम्रो शिक्षा ऐन आएको छैन, केन्द्रले दिनुपर्ने ऐन नआएका कारण हामीले आफ्ना कार्यक्रम योजना अगाडि सार्न सकेको छैन । अब स्वास्थ्यमा पनि नगरस्तरीय हस्पिटल बनाउन भवनहरू निर्माण बाँकी छन्, हस्पिटलहरू व्यवस्थापन गर्नुपर्ने हाम्रो प्रमुख दायित्व छ । शिक्षा–स्वास्थ्यमा थाँती रहेका कामबाहेक र झन्डै ४० प्रतिशत घरधुरीमा खानेपानी पुर्‍याउनु छ । हामीले विगतमा सुरु गरेका कामलाई पूर्णता दिने र नयाँ कामका साथ अघि बढ्ने योजना छ । अब पाँचवटा सडकमा कालोपत्रे गर्ने र कृषि बजारीकरणको लागि राष्ट्रिस्तरको बजार बिक्री केन्द्र बनाउने, हरेक वडामा संकलन केन्द्र बनाउने योजना छ ।

समृद्ध धुनिवेशी बनाउनको लागि वृद्धदेखि बालकसम्म, युवादेखि महिलासम्म र कृषिदेखि उद्योगसम्म सम्पूर्ण विकास गर्ने योजना र कार्यक्रम हामीसँग छ।

पर्यटकीय धुनिवेशी बनाउनका लागि नयाँ केही योजना छ कि ?

हाम्रा थुप्रै योजनाहरू छन्, होम–स्टेका नीति योजना बनाएका छौँ । अब कार्यान्वनमा लैजादै छौँ । त्यसपछि ऐतिहासिक मठ–मन्दिरको व्यवस्थापन, तिनको संरक्षण गर्ने र त्यहाँ जाने पूर्वाधारहरू निर्माण गर्ने, कृषिलाई पर्यटकीय हिसाबले लैजानको लागि त्योसँग आधारित नयाँ योजनाहरू बनाएका छौँ । यस कामलाई कार्यान्वयनमा लैजान हामीले सर्वप्रथम त नीति–नियमहरू बनाउनु पर्छ । मुखले सबै भनेर त हुँदैन । त्यसैले अब हामी नीति बनाउछौँ र काम गर्छौँ । हामीले २१० वटा सडकमध्ये १३ वडा  सडक व्यवस्थित गर्नेछौं । अब बाटो ‘कटिङ’ भन्दा पनि भएको सडक व्यवस्थित गर्ने र ढलान गर्नेछौँ । 

नगरमा विकासमा विभेद गरिएको आरोप पनि छ नि ?

यो नितान्त भ्रम हो । सबै ठाउँमा कामहरू भएका छन्, जति पनि ठाउँमा काम भएकोे छैन, त्यहाँ काम गर्न नदिएका हुन् । बजेट हँुदा पनि काम गर्न नै दिएका छैनन् र आफैँ काम गरेन भन्दै हिँडेका छन् । तपाईँहरूले  के बुझी दिनु पर्‍यो भने बजेट नहालेर काम नभएको हो कि? अब यो मेयरले काम गर्‍यो भने जस पाउँछ भनेर काम गर्न दिएन भन्नेहरूले काम गर्न नदिएर चाँहि काम नभएको हो ? हामीले नौ वडामा कुनै पक्षपात नगरी सबै ठाँउमा बजेट विनियोजन गरेका हौं, सबै ठाउँमा विकासका कार्यगरिएको छ । 

मैले सुरु गरेका काम पूर्ण गर्नका लागि इच्छा जाहेर गरेँ । पहिलो नम्बरमा पार्टीले विश्वास गर्‍यो भने दोस्रो नम्बरमा गठबन्धनले पनि मेरो नेतृत्व स्वीकार गर्‍यो । तेस्रो, सबैभन्दा महत्वपूर्ण व्यक्ति भनेको जनता नै हो । जनताले नै मेरो हिजोको कामको मूल्यांकन गरे भन्ने मलाई लाग्छ ।

गठबन्धनबाट उम्मेदवारी दिएर विजयी हासिल गर्नु भएको हो कि अघिल्लो कार्यकालमा राम्रो काम गर्नु भएर जस्तो लाग्छ? जनतालाई कसरी साथमा लिने योजना छ? 

मैले सुरु गरेका काम पूर्ण गर्नका लागि इच्छा जाहेर गरेँ । पहिलो नम्बरमा पार्टीले विश्वास गर्‍यो भने दोस्रो नम्बरमा गठबन्धनले पनि मेरो नेतृत्व स्वीकार गर्‍यो । तेस्रो, सबैभन्दा महत्वपूर्ण व्यक्ति भनेको जनता नै हो । जनताले नै मेरो हिजोको कामको मूल्यांकन गरे भन्ने मलाई लाग्छ । गठबन्धनमा म जस्ता धेरै मानिसहरू उठ्नु भएको थियो, उहाँहरू सफल हुन सक्नु भएन, अब म सफल भएँ भन्ने लाग्छ । अब भोलि सफल हुन्छु–हुँदैन? जनताका साथ कति पाउँछु? गठबन्धनमा तीन ठूला दलहरू मिलेर विजय प्राप्त गरेका छौँ । अब टिमले कसरी सपोर्ट गर्छ हेर्न बाँकी छ । 

नीति– कार्यक्रम लागू गर्दा जनताको साथ र सहयोग भयो भने टिमलाई पनि मिलाएर लान सकिन्छ तर उहाँहरूकै साथ भएन भने टिम जति बलियो भए पनि काम गर्न सकिँदैन किनकि अघिल्लो कार्यकालमा काम गर्दा बजेट हाल्दा पनि काम गर्न सकिएन । अघिल्लो कार्यकालमा रहेर काम गरेको अनुभव भएको कारण अन्यको तुलनामा अझ राम्रो धुनिवेशी बनाउन सकिन्छ । समृद्ध धुनिबेशी बनाउनको लागि वृद्धदेखि बालकसम्म, युवादेखि महिलासम्म र कृषिदेखि उद्योग सम्म सम्पूर्ण विकास गर्ने योजना र कार्यक्रम हामीसँग छ । जनताको सकारात्मक साथ र सहयोग भयो भने अघिल्लो कार्यकालको भन्दा राम्रो काम गर्न सकिन्छ । हामीसँग राम्रो भिजन छ, टिम छ र योजना छ ।



प्रतिक्रिया दिनुहोस !