१५ बैशाख २०८१, शनिबार

लकडाउनकाे असर कृषिमाः आपूर्तिकर्ता अन्योलमा, सरकार भन्छः निर्वाध आपूर्ति गर्नू

प्रकाशित मिति :  26 March, 2020 10:53 am


काठमाडाैं, १३ चैत । 

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि देशभर लकडाउनको प्रत्यक्ष प्रभाव भने कृषिजन्य वस्तुमा परेको छ । कोरोना नियन्त्रणका लागि मंगलबारदेखि गरिएको लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय वस्तुहरू दूध, फलफूल, तरकारीलगायतको आपूर्ति प्रभावित भएको हो । काराेबार दैनिकमा किरण अाचार्यले लेखेका छन् ।

बिनाअनुमति ढुवानीका साधनहरू रोकिने भएकाले कृषि उपज आपूर्ति गर्ने निजी साधन चल्न नपाउदा आपूर्तिकर्ता अन्योलमा परेका हुन् । “रोग नियन्त्रणका लागि सरकारले लिएको कदमको हाम्रो साथ र सहयोग छ, अत्यावश्यकीय वस्तु आपूर्तिमा हामी प्रतिवद्ध छौं,” नेपाल तरकारी तथा फलफुल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, “कुन समयमा वा दिनभर नै थोक तथा खुद्रा पसल खोल्ने हो भन्ने अन्यौल छ, बिनापास गुड्न नपाएको र पास बनाउन समन्वयको अभाव हुँदा अन्योलमा छौं ।” उपभोक्ताले पनि तीन–चार दिन पुग्ने स्टक गरेकाले बिहीबारसम्म खासै अभावको अवस्था नआउने थप सहजीकरण नभएमा भने तरकारी तथा फलफुल आपूर्तिमा समस्या आउने उनले बताए ।

राजधानीमा सामान्य दिनमा औषत एक हजार ३ सय टन तरकारी र ४ सय देखि ५ सय टन फलफुल खपत हुने गर्छ । लकडाउनका कारण आपूर्ति ८० प्रतिशतले कम भएको महासंघको तथ्यांक छ । “सरकारले खाद्यान्नहरू टोलटोलमै वितरण गर्ने भनेको छ, आपूर्तिमा सहजीकरण गरिएमा हामी पनि निश्चित समयमा साबधानीका उपाय अवलम्बन गरेर टोलटोलमा तरकारी पुर्याउन तयार छौं,” घिमिरे भन्छन्, “भारतबाट पनि आउन नपाउने र यहाँ पनि ओसारपसार गर्न नसक्ने समस्या हट्नुपर्छ, ढुवानी साधनका लागि सहज अनुमतिको व्यवस्था वा विना अनुमति नै गुड्ने व्यवस्था गर्न नसके बिहीबारदेखि आपूर्ति व्यवस्था असहज बन्नसक्ने उनले बताए ।

सरकारले भने लकडाउन अवधिमा कृषि उपजको निर्वाध ढुवानी तथा विक्री वितरण सुचारु हुने र सोही अनुसार काम गर्न सरोकारवालालाई आव्हान गरेको छ । सार्वजनिक सूचना जारी गर्दै कृषि तथा पशुपंक्षी मन्त्रालयले यसअवधिमा दैनिक जीवनमा आवश्यक खाद्यवस्तुको उत्पादन, ढुवानी तथा विक्री वितरण हुने स्पष्ट पारेको हो । मन्त्रालयले महामारीको जोखिमबाट बच्न जारी गरिएको बन्दाबन्दीको आदेश पालना गर्दै आधारभूत खाद्यान्न, दूध, फलफूल, माछामासु, अण्डा तथा पशुपन्छीको दाना र आहारा, कुखुराको चल्लाको उत्पादन, ढुवानी एवम् विक्री वितरण सुचारु हुने स्पष्ट पारको हो । अत्यावस्यक वस्तुको आपूर्ति सहज बनाउन उत्पादक, आयातकर्ता र वितरकलाई आव्हान गर्दै मन्त्रालयले समसया परेमा मन्त्रालयमा फोन गर्न अनुरोध गरेको छ ।

विपद्का बेला कृषि उपजमध्ये पनि दूध, तरकारी र फलफुलजन्य उत्पादन आपूर्ति बढी चुनौतिपूर्ण देखिदै आएको छ । “बालकदेखि वृद्धसम्म सबैलाई आवश्यक पर्ने भएकाले दुग्ध आपूर्तिको व्यवस्था सहज बनाएका छौं,” दुग्ध विकास संस्थानका योजना, वितरण तथा जनसम्पर्क प्रमुख संजीव झाले भने । संस्थानले मंगलबार नै सूचना जारी गरि उपत्यका र उपत्यका बाहिर दुग्ध वितरण गर्ने स्थानको बारेमा जानकारी दिएको छ । जन अनुसार संस्थानले उपत्यकाको हकमा विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म दूध तथा दुगध पदार्थ विक्री बुथ, फ्रेन्चाइज, खुद्राविक्रेता र संस्थानका विक्रीकेन्द्रहरू न्युरोड, लैनचौर र खुमलटारबाट विक्री गर्ने जनाएको छ ।

आवश्यक परेको खण्डमा दुग्ध वितरण आयोजना बालाजुको टोल फ्री नम्बर र दुग्ध पदार्थ विक्री वितरण आयोजना लैनचौरमा फोन गर्न सम्पर्क नम्बरसहित सूचना जारी गरेको हो । उपत्यका बाहिरको हकमा विराटनर, हेटौडा, ढल्केबर, बुटवल, कोहलपुर, अत्तरियालगाएतका वितरण आयोजनामा सम्पर्क गर्न संस्थानले अनुरोध गरेको छ । निजी डेरीहरूको संस्था नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघले निर्वाध आपूर्ति गर्न प्रतिवद्धता जनाएका छन् । दुग्ध संकलनमा ढुवानीका कारण केही स्थानमा समस्या देखिएको एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

दूध संकलन र तरकारी आपूर्तिमा समस्या भएको गुनाासो आइरहेको मन्त्रालयको स्वीकारोक्ती छ । “उद्योगहरू दूध संकलन गर्न नआउदा विक्री गर्न समस्या भएको कृषकहरूको गुनासो र तरकारी ओसारपसारमा समस्या रहेको व्यवसायीहरूको गुनासो हामीसम्म आइपुगेको छ,” मन्त्रायका प्रवक्ता डा. हरिबहादुर केसीले भने, “तत्काललाई ढुवानी सहज बनाउन पहल गरिहेका छौं, यसले धेरै हदसम्म समस्या समाधान गर्ने देखिन्छ ।” सबैको गुनासो सम्बोधन हुने गरी कृषिमन्त्री घनश्याम भुसालमार्फत् उच्चस्तरीय समितिमा निर्णयार्थ पठाइएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !