१७ बैशाख २०८१, सोमबार

काेभिड १९; काेराेना नियन्त्रण गर्न यस्ताे छ दाङकाे सतर्कता र तयारी

प्रकाशित मिति :  27 March, 2020 4:08 pm


दाङ, १४ चैत । 

कोरोना भाइरसबाट बच्न दाङ जिल्लामा पनि उच्च सतर्कता अपनाइएको छ । यस जिल्लामा पनि स्थानीय र प्रदेश सरकार तथा यहाँका सरकारी तथा निजी स्वास्थ्य संस्थादेखि प्रहरी प्रशासनसम्मले यस भाइरसको सङ्क्रमण रोक्न विभिन्न तयारी गरेका छन् । यसका लागि प्रदेश नं ५ सरकारले दाङको बेलझुण्डीमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी कोरोना सङ्क्रमणको प्रकोपको उपाचारका लागि दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अध्ययन संस्थानको शिक्षण अस्पताल भवनलाई पनि कोरोना विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याइएको छ ।

सो अस्पतालमा करिब एकसय साइसोलेशन वेड राखिने तयारीका साथ काम भइरहेको र हाल ३० ओटा आइसोलेसन वेड सञ्चालन गरिएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बिहीबार बसेको व्यस्थापन समितिको बैठकले सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

अस्पतालको प्रमुखको जिम्मेवारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु सर्वेस शर्मालाई दिइएको दाङका प्रमुख जिल्ला अधिकारी गाविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्य जनशक्ति पनि प्रदेश सरकारको समन्वयमा गरिने र हाललाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही, आयुर्र्वेद अस्पताल बेलझुण्डी, तुलसीपुर उपमानगरपालिका र घोराही उपमहानगरपालिकाका स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ ।

अस्पतालका लागि आवश्यक वेड र उपकरणका लागि प्रदेश नम्बर ५ सरकारले २ करोड रकम उपलब्ध गराएको प्रजिअ रिजालले जानकारी दिनुभयो ।अस्पतालमा चौविसै घण्टा सञ्चालन गर्नेगरी तुलसीपुर उपमहानगरपालिका र नेपाल रेडक्रस सोशाइटी दाङका दुई वटा एम्बुलेन्स राखिएको छ । ती अस्पतालमा सुरक्षाको पनि पूर्ण व्यवस्थापनको प्रबन्ध मिलाइएको छ ।

कोरोना आशङ्का गरिएका तथा सङ्क्रमितलाई सोही अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने र स्वाब परीक्षणका लागि काठमाडाँै पठाइने जानकारी प्रजिअ रिजालले दिनुभयो । दाङमा हालसम्म ६ जना विरामी कोरोना सङ्क्रमणको आशङ्कामा अस्पतालमा आएका छन् । जसमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जनालाई आइसोलेशनमा राखिएको अस्पतालका कामु रजिष्ट्रार कैलाशप्रसाद देबले जानकारी दिनुभयो ।

तीमध्ये तीजनाको स्वाब परीक्षणको लागि केहीदिन अघि नै काठमाडाँैको टेकु अस्पताल पठाए पनि हालसम्म रिपोर्ट नआएको रजिष्ट्रार देबले जानकारी दिनुभयो । त्यस्तै दुई जनाको स्वाब बिहीबार काडमाडाँै पठाइएको छ ।

त्यस्तै कोरोनाको आशङ्कामा एकजना विरामी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको आइसोलेशनमा रहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिनु भयो । गत चैत ४ गते कतार हुदै आएकी एक महिलामा ज्वरो, रुघाखोकी लगायतका लक्षण देखिएपछि आइसोलोशन वार्डमा राखिएको हो ।

कोरोना अस्पतालमा आउने विरामीलाई खानाको लागि तत्काल तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले एक एक लाख रुपैयाँ सो अस्पतालको कोषमा जम्मा गरिदिने भएका छन् ।

आयुर्वेद शिक्षण अस्पतालमा रहेका वेडलाई यथावत राखी अन्य थपेर प्रदेश स्तरको कोरोना अस्पताल निर्माण गरिएको हो । प्रदेश नं ५ सरकारले यसअघि रुपन्देही र बाँकेमा गरी ३ वटा कोरोना विशेष अस्पताल सञ्चालन गरिसकेको छ ।

यसैबीच कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यहाँका सरकारी तथा निजी अस्पतालहरुमा ७४ वटा आइसोलेशन वेड तयार गरिएको छ भने तुलसीपुर उपमहानगर पालिकाले ५ वेड रहेको क्वारेन्टाइन बनाएको छ जसमा त्ुालसीपुरमा रहेको नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डामा १० वेडको आइसोलेशन वार्ड बनाइएको नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुरले जनाएको छ । त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० वेडको आइसोलेशन निर्माण गरिएको छ ।

त्यस्तै दीपज्योति अस्पताल, बुद्ध इन्टरनेशनल अस्पताल घोराहीमा पनि तीन तीन वेडको आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै राप्ती केयर अस्पताल तुलसीपुरमाा ५, मितेरी अस्पताल घोराहीमा ५, तुलसी अस्पताल तुलसीपुरमा ६ र गोरखा अस्पताल घोराहीमा ४ वटा वेड तयारी गरिएको छ । लमही अस्पताल लमहीमा ३, पलोरेन्स अस्पताल लमही र फिड अस्पताल लमहीमा ३÷३ वटा आइसोलेशन तयार गरी राखिएको छ । त्यसैगरी स्वास्थ्य चौकी सिसहनीयामा पनि ५ वटा वेड तयारी अवस्थामा राखिएको छ ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाको पहल तथा यहाँका विभिन्न संघ सस्थाको सहयोगमा तुलसीपुर उद्योग वाणिज्य सङ्घको सभाहलमा पनि पाँच वेडको क्वारेनटाइन वनाइएको छ ।

सो क्वारेन्टाइनमा विदेशबाट आएका र शङ्कास्पद व्यक्तिहरुसँग सम्पर्क भएका तर घरमा सुरक्षित हुनसक्ने अवस्थामा नरहेका व्यक्तिहरुलाई राख्ने उपमहानगरपालिकाले जनाएको छ । त्यस क्वारेन्टाइनमा बस्दा ज्वरो आएमा वा कारोनासम्बन्धी लक्ष्ण देखा परेमा बेलझुण्डीको कोरोना अस्पतालमा लगिने बताइएको छ ।

त्यस्तै पश्चिम दाङको बबई गाउँपालिकाले ३० वेडको आइसोलेशन वार्ड निर्माण गरेको जनाएको छ । बबई ५ को हापुरेमा रहेको पदमपुर माविमा आइसोलेशन वार्ड निर्माण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि खड्काले जानकारी दिनुभयो । कोरोना विरुद्धको अभियान अन्तर्गत जिल्लाका १० वटै स्थानीय तहसँग समन्वय बैठक सम्पनन भएको छ । बैठकमा कोरोना विशेष अस्पताल बेलझुण्डीलाई प्रभावकारी बनाउन सबै स्थानीय तहले सहयोग गर्ने सहमति गरेका छन् ।

यस अभियानअन्तर्गत घोराही र तुलसीपुरले एक÷एक लाख र आठ वटा स्थानीय तहले ५०÷५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् । शङ्कास्पद विरामी भेटिए स्थानीय स्वास्थ्य निकायमा ज्वरो जाँचगरी कोरोनाको लक्षण देखिए बेलझुण्डी अस्पताल पठाउने निर्णय भएको छ ।

उता कोरोना सङ्क्रमणबाट नागरिकलाई जोगाउ सरकारले गरेको लकडाउनको चोथो दिन आज पनि दाङ पुर्ण रुपमा सुनसान रहेको छ । यहाँका बजार तथा सडकहरु पूर्णरुपमा सुनसान रहेका छन् । यहाँका स्थानीय तहहरुले नागरिकलाई घरभित्र नै बस्न सन्देशमुल सूचनाहरु स्थानीय रेडियोबाट तथा माइकिङ गरेर दिएका छन् ।

स्थानीय बजारहरु पूर्ण रुपमा सुनसान भए पनि गाउँघर तिर भने मानिसरुको केही चहलपहल देख्न सकिन्छ । बजारतिर प्रहरी छ भने गाउँघरमा देखिएको छैन ।

नारायणी/रासस



प्रतिक्रिया दिनुहोस !