४ जेष्ठ २०८१, शुक्रबार

स्थानीय तहमा कृषि शाखा अझै ओझेलमा

प्रकाशित मिति :  14 July, 2022 2:39 pm


बलेवा । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका स्थानीय तहले सशर्त बाहेकका योजनामा कृषि शाखालाई ओझेलमै राखेका छन् । पालिका तहमा कृषिको विकास नहुँनुमा दक्षप्राविधिक अभाव भएको र स्थानीय तहले प्राथमिकतामा कृषि शाखालाई नराखेको गुनासो आउन थालेको छ । लामो समयसम्म गाउँपालिका तथा नगरपालिकामा कृषि प्राविधिक नखटाउने र जनप्रतिनिधिले पनि कृषिको विकासलाई विकास नमान्ने प्रवृत्ति रहेको सरोकार वालालले बताए ।

कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा जिल्लाका सबै पालिकाको कृषि शाखाको समन्वयात्मक बैठकमा सहभागी हुन आएका कृषि प्राविधिकले आफ्नो शाखा ओझेलमा परेको गुनासो गरे । उनीहरुले भौतिक विकास, सडक, खानेपानी र सिँचाइका आयोजना भए विकास मान्ने, तर कृषि फसल उत्पादन, सीप हस्तान्तरण र उत्पादनको बजारीकरणमा ध्यान नदिएको बताए ।

विसं २०७४ मा स्थानीय निर्वाचन भएपछि लामो समयसम्म कुनैपनि पालिकामा कृषि शाखामा कर्मचारी र प्राविधिक शून्य भएको थियो । कर्मचारी अभावमा सामान्य सूचनासमेत पाउन नसकेर किसान पीडित भए । कृषि ज्ञान केन्द्र पनि नभएकोले सङ्घीयताको मर्मअनुसार किसानले सेवा पाउन सकेका थिएनन् । लामो समयपछि शाखा स्थापना भए पनि कर्मचारी भने अझै अभाव छ ।

आगामी आर्थिक वर्षका लागि भने पालिका तहमा कृषि अधिकृत राख्न सरकारले बजेट विनियोजन गरेको छ । यद्यपि राजनीतिक दल र जनप्रतिनिधिले अझै कृषि तथा भेटेनरी क्षेत्र प्राथमिकतामा नपारेको प्राविधिकले बताए ।

‘कृषिका धेरै कार्यक्रम सम्पन्न गर्नै सकिएन, केही कार्यक्रम प्राविधिक नभएकोले फिर्ता भए’ बरेङ गाउँपालिकाका कृषि प्राविधिक सोमराज रावतले भने,“समयमा बीउ पाउनेदेखि सीप र प्रविधि हस्तान्तरणका कामसमेत रोकिएका थिए ।” व्यावसायिक किसानले बजारीकरण गर्न नपाएको, समयमा मल बीउ पाउने अवस्था नभएको र कार्यपालिका बैठकमा पनि कृषिका फाइल अगाडि नबढ्ने समस्या भएको उनले गुनासो गरे ।

काठखोला गाउँपालिकाकी प्राविधिक सीता शर्माले कतिपय कार्यक्रम शाखाले हेर्नै नपाएको गुनासो गरिन । ‘ठूलो रकमका आयोजना कार्यपालिकाले सोझै प्रमुख प्रशासकीय अधिकृतमार्फत कार्यान्वयन गराए’ शर्माले भनिन, “खर्चको सिलिङ मात्रै हामीले राख्यौँ ।’ के काम भयो, भनेर अनुगमन पनि गर्न नसकेको उनले गुनासो गरिन । गलकोट, बडिगाड, तमानखोला र जैमिनीका प्राविधिकले पनि कृषि क्षेत्र उपेक्षामा परेको गुनासो गरे ।

ताराखोला गाउँपालिकाका प्राविधिक कर्णखर भट्टराइले कृषि क्षेत्रमा पर्याप्त बजेट र कार्यक्रम गर्न पाएको बताए । जनप्रतिनिधिले पनि कृषिमा चासो राखेकोले काम सजिलो भएको उनको भनाइ थियो । सबै प्राविधिकका गुनासा सुनेपछि जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले किसानले प्राविधिक र प्राविधिकले किसान चिन्ने र आफ्ना समस्या समाधान गर्ने वातावरण चाहिएको बताए। जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र किसानबीचका समन्वयको खाँचो भएमा सञ्चार क्षेत्रले जोड्नुपर्ने उनको धारणा छ । रासस



प्रतिक्रिया दिनुहोस !