१७ बैशाख २०८१, सोमबार

कोकाकोला कर छलीका अभियुक्तहरू धमाधम धरौटी तारिखमा

प्रकाशित मिति :  14 September, 2022 6:36 pm


काठमाडौं । पाँच पटकसम्म नेपाल बाहिर नै स्वामित्व किनबेच भइ नेपाललाई तिर्नुपर्ने साढे सात अर्ब रुपैयाँभन्दा अधिकको कर छलीमा संलग्न बोटलर्स नेपालका पूर्व र वर्तमान अधिकारीहरू अदालतबाट धरौटीमा छुट्न थालेका छन् ।
राजस्व अनुसन्धान विभागले बोटर्लर्स नेपाल लिमिटेडकी अध्यक्ष शुक्ला वासनसहित ९ जना पूर्व र वर्तमानमा सञ्चालक, प्रबन्ध सञ्चालक प्रदीप पाण्डेसहित ८ जना पदाधिकारीलाई प्रमुख प्रतिवादी बनाउँदै गत २०७८ फागुन २७ गते राजस्व चुहावटमा मुद्दा दायर गरेको थियो ।
उच्च अदालत पाटनमा सुनुवाइका क्रममा कम्पनीका नेपाली अधिकारीहरूलाई धरौटी तारिखमा छाड्न थालेको हो । स्रोतका अनुसार उच्च अदालत पाटनले स्वतन्त्र सञ्चालक त्रिलोचन उप्रेतीलाई ५० हजार, लेखापरीक्षक सञ्जीव मिश्रलाई ५ लाख, प्रमुख वित्त नियन्त्रक भरत दाहाललाई २ लाख, वित्त नियन्त्रक अशोक मण्डललाई २ लाख रुपैयाँ धरौटी तारिखमा छाडेको हो ।
बोटलर्स नेपाल लिमिटेडमा १४ डिसेम्बर, २०१२ देखि स्वतन्त्र सञ्चालक रहेका डा. त्रिलोचन उप्रेतीले स्वतन्त्र संचालकको भूमिका नै कम्पनीमा कानुनको परिपालना तथा कम्पनीको संस्थागत सुशासन कायम गराउन व्यवस्था गरिएकोमा कम्पनीको कर दायित्व तिर्ने तिराउनेतर्फ कुनै पहल नगरेको भन्दै उनलाई विभागले राजस्व चुहावटको कार्यमा मतियारका रुपमा मुद्दा दायर गरेको थियो।
यस्तै, चार्टड एकाउन्टेन्ट संजीवकुमार मिश्र कम्पनीले कर दायित्व परिपालना गराउने र कम्पनीको कर दायित्व निर्क्यौल गराउन लेखा परिक्षण गर्ने व्यक्ति मुख्य भूमिकामा रहने भएकोमा आफ्नो व्यावसायिक दायित्व बमोजिमको भूमिका बहन नगरी राजस्व चुहावट गर्ने कार्यमा संलग्न रहेको देखिएको हुँदा उनी पनि राजस्व चुहावटमा मतियार कायम गरी सजायको मागदावी गरिएको थियो ।
यसैगरी, प्रमुख वित्त नियन्त्रक भरतबाबु दाहाल र वित्त नियन्त्रक अशोककुमार मण्डल सम्मका कम्पनीको उच्च तहमा कार्यरत रहेको अवस्थामा स्वामित्व परिवर्तन जस्तो विषयमा जानकारीमा रहने नै भएकोले पुँजीगत लाभ कर र स्वामित्व परिवर्तन पश्चात कम्पनीलाई भएको आय अनुसारको आयकर लगायतको कर राजस्व चुहावटमा निजहरुको संलग्नता रहेको देखिएको विभागले मतियार कायम गरी मुद्दा दायर गरेको थियो ।

केही नाम चलेको अदालती बिचौलियाहरूले यो कर छली मुद्दा मिलाउने ठेक्का लिएको स्रोत बताउँछ ।
कोमाथि कति माग दाबी ?

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालका पूर्व र वर्तमानमा सञ्चालक, र ८ जना पदाधिकारीलाई प्रत्येकमाथि तीन अर्ब ७१ करोड ८१ लाख र एक अर्ब ८५ करोड ९० लाख रपैयाँका दरले माग दाबी गरि मुद्दा दायर गरेको थियो ।

प्रत्येकमाथि बिगो रु ३ अर्ब ७१ करोड ८१ लाख

१. बोटलर्स नेपाल लिमिटेड कम्पनी

अध्यक्ष तथा सञ्चालकहरू

२. शुक्ला वासन -अध्यक्ष
३. माल्भिन तान चुन पिन सञ्चालक सदस्य
४. मोहमल अमिन गोयनिम- सञ्चालक सदस्य
५. गौरभ खोसला- सञ्चालक सदस्य
६. संदीय बजोरिया- सञ्चालक सदस्य
७ देबब्रत मुखर्जी- सञ्चालक सदस्य
८ सुमन्त दत्ता- सञ्चालक सदस्य
९ जबाहर सोलाई कप्पुस्वामी- सञ्चालक सदस्य
१० संकेत रे सञ्चालक- सदस्य
मुख्य अभियुक्तलाई हुने सजायको आधा रु.१ अर्ब ८५ करोड ९० लाख

११ प्रदीप पाण्डे- प्रबन्ध सञ्चालक
१२ पुनीत चन्द्रपाल वार्शने-प्रबन्ध निर्देशक
१३ राजीव टन्डन- वित्त व्यस्थापक
१४ भरतबाबु दहाल- वित्त व्यस्थापक
१५ सुमीत गोयल- वित्त व्यस्थापक
१६.अशोक कुमार मण्डल-वित्त नियन्त्रक

१७. डा. त्रिलोचन उप्रेती- स्वतन्त्र सञ्चालक

१८. संजीवकुमार मिश्र-चार्टर्ड एकाउन्टेट

यो पनि पढ्नु होस् ।
कोकाकोलाले बेच्यो, भियतनाम र क्याम्बोडियाको फ्रान्चाइज, नेपालको प्लान्ट ‘सेटल’ गर्न खोज्दै

करछलीको आरोपमा कोकाकोला विरुद्व रू. ७ अर्ब ४३ करोडको मुद्दा दायर
कोकाकोलाले बोटलिङ इन्भेस्टमेन्ट ग्रुपका प्रमुखलाई मुख्यालय तान्यो



प्रतिक्रिया दिनुहोस !