साना किसान विकास र आरएमडीसीबीच मर्जरकाे समझदारी, पुँजी कोष रु. ७ अर्ब भन्दा बढी हुने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.बीच मर्जर गर्न प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
एक आपसमा गाभिएपछि ‘साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था’को नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हिजो हस्ताक्षर भएको हो ।
मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेम बहादुर पाठक अध्यक्ष, डा. शिवराम प्रसाद कोईराला प्रमुख कार्यकारी अधिकृत र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ ।
दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १÷१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०० शेयरलाई मर्जरपछि ८७ शेयर (१०० : ८७) कायम हुने गरी शेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ ।
मर्जर पछि यस लघुवित्त वित्तीय संस्थाको पुँजी कोष रु. ७ अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब रु. ४३ अर्ब पुग्नेछ । मर्जरपछि नेपालको कृषि तथा लघुवित्तको क्षेत्रमा लगानी गर्ने बैकल्पिक एवम् सबल विशिष्टिकृत वित्तीय संस्थाको खाँचो पुरा हुने दुबै संस्थाको दाबी छ ।
समाजका विपन्न तथा सिमान्तकृत वर्गमा सहज एवम् सरल वित्तीय पहुँच अभिवृद्धिका लागि नेपाल सरकारको एक सशक्त एवम् जिम्मेवार वित्तीय साझेदारको रुपमा स्थापित हुन मर्जर गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।








