१६ चैत्र २०८०, शुक्रबार

विश्वकप फुटबल प्रसारणमा २४ करोड रुपैयाँ खर्च गर्ने नेपाल टेलिकमको निर्णय विवादमा

प्रकाशित मिति :  23 September, 2022 2:35 pm


काठमाडौं । नेपाल टेलिकमले विश्वकप फूटबल प्रसारणका लागि २४ करोड रुपैयाँ खर्च गर्ने निर्णय विवादमा तानिएको छ ।

बोर्ड बैठकले २४ करोड रुपैयाँ गर्ने गर्ने निर्णय गरेपछि टेलिकमका कर्मचारी विरोधमा उत्रिएका छन् । आगामी २०७९ मंसिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको फिपा विश्वकप २०२२ का ६४ वटै खेलको प्रसारण अधिकार नेपाल टेलिकमको मोबाइल तथा एनटीटीभीमा ओटीटी मार्फत गर्नको लागि मिति २०७९ भाद्र २४ गते बसेको सञ्चालक समितिको बैठकबाट सैद्धान्तिक सहमति दिएको थियो ।

तर, कर्मचारीहरूले भने विरोध जनाएका छन् । उनीहरूले यो निर्णय कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव मणिकुमार पोख्रेलले भने,“टेलिकमको गुणस्तर सुधार्ने नेतृत्वको ध्यान छैन, अनावश्यक ठाउँमा नेपाली जनताको रगत पसिनाले कमाएको २४ करोड रुपैयाँ त्यत्तिकै खर्च गर्न खोजिदैछ यो हामी कुनै हालतमा हुन दिँदैनौं ।” नेपालमा विश्वकप प्रशारणको अधिकारको जिम्मा मिडिया हबले लिएको छ ।

कर्मचारीहरूले प्रवन्ध निर्देशलाई बुझाएको ध्यानकर्षण पत्रमा भनिएको छ,“उक्त विषयमा नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्क अनुसार ग्राहकको फिफा विश्व कप प्रतिको अभिरुची, शहर तथा ग्रामिण ग्राहकको स्क्रिनको आकार, प्राथमिकता,एनटीटीभीसँग हुने राजश्व साझेदारीमा प्रभाव जस्ता जस्ता व्यापारमा महत्वपूर्ण प्रभाव पार्ने तत्वहरुको वस्तुपरक विश्लेषण गर्नुपर्नेमा जोड दिइएको छ ।

ध्यानकर्षण पत्रमा भनिएको छ,“सहित कम्पनीको व्यावसायिक योजना एवं लाभ लागत, विश्लेषण गरेर मात्र व्यावसायिक योजना बनाउन सकेमात्र त्यस्ता व्यावसायिक योजना अर्थपूर्ण हुने, नत्र त्यस्ता योजना व्यापार घाटाको कारण मात्र बन्ने यथार्थलाई सवैले स्विकार्नु पर्दछ ।”

करीव २४ करोडको लागत सहित व्यापारिक योजनाको लागत संरक्षण र सोको प्रतिफलको स्पष्ट आधार एवं आइटी क्षेत्रको सेवाको प्रोक्सि सर्भर मार्फत हुनसक्ने चुहावटबारे समेत कर्मचारीले सचेत गराएका छन् ।

नेपाल टेलिकमले अङ्गिकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलीले खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाने भन्दै कर्मचारीले विरोध जनाएका छन् ।

ध्यानकर्षण पत्रमा भनिएको छ,“समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमा समेत प्रत्यक्ष असर पर्ने र यस्ता योजनाहरु ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने हुँदा यस्तो योजनाको विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधार सहितका तथ्य एवं त्यस्ता योजनाको सफलताको लागि युनियनले समेत खेल्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष हार्दिक अनुरोध गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !