नेपाल र कोरियाबीच दुई आयोजना कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडाैं । नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीहरूको स्थिर पुनःएकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासले ‘कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने’ र ‘नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना’ गर्ने दुई आयोजना कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ ।
प्रत्येक आयोजनाका लागि ८० लाख लागि अमेरिकी डलरका दरले यी दुई आयोजनाका लागि कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर (लगभग रु. दुई अर्ब) अनुदान सहायता उपलब्ध गराउने छ ।
समझदारीपत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ-सुक पार्कले हस्ताक्षर गरेका थिए । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (जाईका)ले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्वयमा आयोजनाहरू कार्यान्वयन गर्नेछ ।
कोरियाबाट फर्कने आप्रवासीलाई सहयोग गर्ने उक्त आयोजनाले नेपालको सामाजिक—आर्थिक विकासमा योगदान पुर्याउने र कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनःएकीकरण र उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको छ।
आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंक लिमिटेड मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनको लागि एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्नेछ।
त्यसैगरी साइबर ब्यूरो परियोजनाको मुख्य उद्देश्य नेपाल प्रहरीको साइबर अपराध विरुद्धको क्षमतालाई सुदृढ गर्नु रहेको छ । जसमा साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि हुनेछ।