१३ बैशाख २०८१, बिहिबार

कोकाकोलाको मुख्य बोटलिङ प्लान्ट- बोटलर्स तराईको कर अडिट पनि छानबिनमा

प्रकाशित मिति :  30 September, 2022 3:57 pm


काठमाडौं । बहुराष्ट्रिय कार्बोनेटेड पेय पदार्थ उत्पादक कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको पटक-पटकको स्वामित्व किनबेचका क्रममा मुख्य बोटलिङ प्लान्ट भरतपुरस्थित बोटलर्स नेपाल तराई लिमिटेडमा भएको मुख्य लगानी विस्तार नै नदेखाएको पाइएको छ ।

गत पाँच महिनायता भइरहेको कर अडिटले पेट (प्लास्टिकको बोटल)प्लान्ट विस्तार, पानी प्रशोधन प्लान्ट निर्माण तथा स्तरोन्नति, बहुसुविधायुक्त आवासीय भवन तथा एनेक्स भवन र अन्य पूर्वाधार निर्माणमा गरिएको मुख्य लगानी नै नदेखाएको पाइएको ठूला करदाता कार्यालय स्रोतले बतायो ।

प्रारम्भिक कर अडिटका क्रममा यी पूर्वाधारहरू निर्माणमा विगत एक दशकमा ६ अर्ब रुपैयाँ खर्च गरिएको देखिए पनि कोकाकोलाको नेपाल बोटलिङ प्लान्ट , बोटलर्स नेपालले सरकारलाई बुझाएको करको स्वःघोषणापत्रमा यस्ता खर्चको वास्तविक लेखांकन नै गरेको नपाइएको हो ।
०६१ र २०७१ सालमा स्वामित्व किनबेच भइ बोटलर्स नेपाल लिमिटेडको नियन्त्रणमा परिवर्तन हुँदा बोटलर्स नेपालको अधिकांश सेयर स्वामित्व रहेका कम्पनीहरूको पनि नियन्त्रण परिवर्तन भएकाले बोटलर्स नेपाल तराई लिमिटेड र ट्रोयका ट्रेडर्स प्रालिले समेत आय विवरण दाखिला नगरेकोले ती दुवै कम्पनीमाथि कर निर्धारण भइरहेको छ ।

बोटलर्स नेपाल तराई लिमिटेडमा बोटलर्स नेपाल लिमिटेडको ९० प्रतिशत सेयर स्वामित्व भने ट्रोयका ट्रेडर्स प्रालिमा सत प्रतिशत सेयर स्वामित्व छ । भरतपुरस्थित मुख्य कारखाना बोटलर्स नेपाल तराई लिमिटेडको पूर्णव्यवस्थापन कोकाकोला कम्पनीको लगानीकर्ता संयन्त्र द बोटलिङ इन्भेस्टमेन्ट ग्रुप (अफसोर कम्पनी– यूरोपियन रिफ्रेसमेन्ट) मार्फत् नियुक्त भएका सञ्चालक र उच्च व्यवस्थापनले नै हेर्दै आएका छन् ।

बोटलर्स नेपालको व्यापारिक कम्पनी ट्रोयका ट्रेडर्स प्रालिको स्वामित्व नै भारतीय नागरिकहरूलाई नामसारी गर्न लागिएपछि वाणिज्य विभागले सो कम्पनीको नवीकरण नै रोकिसकेको छ ।

बोटलर्स नेपाल लिमिटेडको ७६ प्रतिशत शेयर नेपाल बाहिर नै पटक-पटक किनबेच गरि नेपाल सरकारलाई तिर्नुपर्ने साढे सात अर्ब रुपैयाँभन्दा अधिकको कर छली अभियोगमा हाल उच्च अदालत पाटनमा मुद्दा सुनुवाइका क्रममा छ ।

राजस्व अनुसन्धान विभागले बोटर्लर्स नेपाल लिमिटेडकी अध्यक्ष शुक्ला वासनसहित ९ जना पूर्व र वर्तमानमा सञ्चालक, प्रबन्ध सञ्चालक प्रदीप पाण्डेसहित ८ जना पदाधिकारीलाई प्रमुख प्रतिवादी बनाउँदै गत २०७८ फागुन २७ गते राजस्व चुहावटमा मुद्दा दायर गरेको थियो ।

उच्च अदालत पाटनमा सुनुवाइका क्रममा कम्पनीका नेपाली अधिकारीहरूलाई धरौटी तारिखमा छाड्न थालेको छ। हालसम्म उच्च अदालत पाटनले स्वतन्त्र सञ्चालक त्रिलोचन उप्रेतीलाई ५० हजार, लेखापरीक्षक सञ्जीव मिश्रलाई ५ लाख, प्रमुख वित्त नियन्त्रक भरत दाहाललाई २ लाख, वित्त नियन्त्रक अशोक मण्डललाई २ लाख रुपैयाँ धरौटी तारिखमा छाडेको हो ।

नेपाली सञ्चालक तथा उच्चव्यवस्थापकहरू धमाधम अदालतबाट धरौटी तारिखमा छुट्न थालेपछि भारतमा अर्ध-भूमिगत भएका प्रबन्ध सञ्चालक प्रदीप पाण्डे, वित्त निर्देशक राजीव टण्डनसहितका उच्च व्यवस्थापकहरू कानुनी प्रक्रिया मिलाएर नेपाल आउने सन्देश पठाएको बोटलर्स नेपाल स्रोतले बतायो । प्रबन्ध सञ्चालक प्रदीप पाण्डेले भारतबाट बोटलर्स नेपालको व्यवस्थापन सञ्चालन गर्दै आएका छन् ।

देवयानीको सुटुक्कै आवतजावत

बोटलर्स नेपालमाथिको कर छली प्रकरणलाई अनुसन्धान प्रक्रियाबाटै प्रभावित तुल्याउने प्रयास गर्दै आएकी कोकाकोला इन्स्वाकी उपाध्यक्ष हालै नेपाल आएर फर्केकी छिन । यस पटक छोटो अवधिमात्रै नेपाल बसेकी देवयानीले कर मूल्यांकनबारे केही सरकारी अधिकारीसँग छलफल गरेको कोकाकोला स्रोत बताउँछ ।

कर-व्यवस्थापक राखियो

कर छली अभियोगमा मुद्दा दायर भएको, थप संस्थागत आयकर लगाउन तथा स्वामित्व किनबेचपछि मूल बोटलिङ प्लान्टको मूल्य अभिवृद्धि कर, आयकर, अग्रिम आयकर र अन्त‌‌‌शुल्कसमेतको २०७२ सालदेखिकै कर अडिट सुरू भएपछि बोटलर्स नेपालले पहिलो पटक कर व्यवस्थापक नियुक्त गरेको छ ।

विभागले बोटलर्स नेपालले बोटलर्स नेपालको स्वामित्व किनबेच हुँदा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रूपैयाँ बिगोको सतप्रतिशत जरिवानासमेत कायम गरी ७ अर्ब ४३ करोड ६३ लाख रूपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर स्वामित्व रहेको कोकाकोला साब्को एसियाको सतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा कोकाकोला साब्कोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो। यो कोकाकोलाको मुख्य प्यारेन्ट कम्पनी -द कोकाकोला कम्पनीको लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुपको अफसोर कम्पनी हो ।

गुत्से परिवारबाट स्वामित्व किनबेच हुनेवित्तीकै गरेको इमेल पत्राचारमा बोटलिङ इन्भेस्टमेन्ट ग्रुपले नै स्वामित्व किनेको प्रमाण टक्सार म्यागजिनले प्रकासित गरेको थियो ।

कोमाथि कति माग दाबी ?

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालका पूर्व र वर्तमानमा सञ्चालक र ८ जना पदाधिकारीलाई प्रत्येकमाथि तीन अर्ब ७१ करोड ८१ लाख र एक अर्ब ८५ करोड ९० लाख रूपैयाँका दरले माग दाबी गरि मुद्दा दायर गरेको थियो ।

प्रत्येकमाथि बिगो रु ३ अर्ब ७१ करोड ८१ लाख र त्यसको दोब्बर जरिवाना

१. बोटलर्स नेपाल लिमिटेड कम्पनी

अध्यक्ष तथा सञ्चालकहरू

२. शुक्ला वासन -अध्यक्ष
३. माल्भिन तान चुन पिन सञ्चालक सदस्य
४. मोहमल अमिन गोयनिम- सञ्चालक सदस्य
५. गौरभ खोसला- सञ्चालक सदस्य
६. संदीय बजोरिया- सञ्चालक सदस्य
७ देबब्रत मुखर्जी- सञ्चालक सदस्य
८ सुमन्त दत्ता- सञ्चालक सदस्य
९ जबाहर सोलाई कप्पुस्वामी- सञ्चालक सदस्य
१० संकेत रे सञ्चालक- सदस्य
मुख्य अभियुक्तलाई हुने सजायको आधा रु.१ अर्ब ८५ करोड ९० लाख

११ प्रदीप पाण्डे- प्रबन्ध सञ्चालक
१२ पुनीत चन्द्रपाल वार्शने-प्रबन्ध निर्देशक
१३ राजीव टन्डन- वित्त व्यस्थापक
१४ भरतबाबु दहाल- वित्त व्यस्थापक
१५ सुमीत गोयल- वित्त व्यस्थापक
१६.अशोक कुमार मण्डल-वित्त नियन्त्रक

१७. डा. त्रिलोचन उप्रेती- स्वतन्त्र सञ्चालक

१८. संजीवकुमार मिश्र-चार्टर्ड एकाउन्टेट



प्रतिक्रिया दिनुहोस !