‘पेट्रोलियम पदार्थको विकल्पमा हाइड्रोजन प्रयोग गर्दा नेपालको व्यापार सन्तुलनमा आउँछ’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित नेपाल ग्रिन हाइड्रोजन समिट २०२२ लाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले हाइड्रोजन उत्पादन गरी बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका हुन् । उनले जलवायु परिवर्तनका कारण विभिन्न असरहरु पनि देखिन थालेको भन्दै कार्बन उत्सर्जनलाई कम गर्नुपर्ने बताए ।
“हामीले नेपालबाट अब विद्युत बिक्री गर्नुपर्दैन । अब हाइड्रोजन बिक्री गरे पुग्छ । एमोनिया बिक्री गरे पुग्छ । त्यसकारणले विद्युत पिपिए गर्न नपर्ने कुरा अब केही छैन । विद्युत उत्पादन गर्नमा हामीले अब क्यु फोर्टी, सिक्स्टी भन्नुपर्ने अवस्था पनि छैन । भएको पानीको सबै सदुपयोग गरेर विद्युत उत्पादन गर्नसक्यो भने र त्यसबाट हामीले हाइड्रोजन, एमोनिया बनाएर विश्वबजारमा प्रतिष्पर्धी भएर हामीले पु(याउन सक्यौँ भने नेपालको समृद्धी त्यहीँ छ ।,” उनले भने, “नेपालको विकासको एउटा सुन्दर भविष्य मैले त्यही देखिरहेको छु । त्यसकारण यतातिर हामी सबैको ध्यान जानुपर्छ । जलवायु परिवर्तनका कारणबाट पार पाउनका लागि, कार्बन उत्र्सजनलाई कम गर्नुपर्ने आवश्यकतालाई यसले त्यसको विकल्पको रुपमा हामीले एमोनिया र ग्रिन हाइड्रोजन प्रयोग गर्नसक्ने भएको हुनाले यसको पनि त्यत्तिकै महत्व छ ।’’
“नेपालको सन्दर्भमा सबैभन्दा बढी डलर खर्च गर्नुपर्ने वस्तु पेट्रोलियम पदार्थ भएको छ । पेट्रोलियम पदार्थको विकल्पको रुपमा हामीले हाइड्रोजनलाई प्रयोगगरी आफैँलाई मात्र प्रयोग गर्नसक्यौँ भने नेपालको व्यापार सन्तुलनमा आउने अवस्था देखिन्छ । नेपालको आर्थिक विकासको दृष्टिकोणले, जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने दृष्टिकोणले, विश्व बजारमा नेपालको पहुँचलाई वृद्धि गर्ने र प्रतिष्पर्धी बन्ने हिसावले र हामीसँग भएको अपार सम्भावनालाई सदुपयोग गर्ने र नेपालमा लगानी भित्राउने दृष्टिकोणले पनि यो विषय ज्यादै महत्वपूर्ण छ’’ उनले थपे ।
मन्त्री शर्माले हाइड्रोजन उत्पादन देशको विकास र जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने दृष्टिकोणले निकै नै महत्वपूर्ण रहेको बताए ।








