१२ श्रावण २०८१, शनिबार

स्याङ्जा १ : जनताको विश्वास जित्छन् त थापाले, कृषि क्षेत्र नै पहिलो प्रथामिकता

प्रकाशित मिति :  27 November, 2022 5:06 pm


स्याङ्जा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मतपरिणाम देशभरका अधिकांश ठाउँहरुमा सार्वजनिक भइसकेको छ भने कुनै ठाउँमा मतगणनाको नतिजा आउने क्रममा रहेको छ ।

योसँगै दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जा जिल्लामा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् भने स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमाले लगायत अन्य दलहरुले पुन मतदानको माग गर्दै सडकमा आन्दोलन गरेको छन् । जसका कारण मतगणना कहिले हुन्छ भन्रे विषय अन्योलमा नै रहेको छ ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका थापाले २ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद बनेका छन् । थापाले ३१ हजार ९९९ मत पाउँदा मरासिनीले २८ हजार ७४४ मत पाएका हुन् । यसैगरी, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ६ हजार ६५ मत प्राप्त गरेका हुन् ।

स्याङ्जामा मरासिनी र थापा लगातार तेस्रोपटक प्रतिस्पर्धामा थिए । पहिलो पटक २०७० सालमा कांग्रेसका थापाले एमालेका मरासिनीलाई पराजित गर्दै प्रतिनिधिसभा छिरेका थिए । यस्तै, २०७४ को निर्वाचनमा एमालेका मरासिनीले कांग्रेसका थापालाई पराजित गरेका थिए । फरक–फरक पार्टीबाट संँग–सँगै निर्वाचन लडेर एक/एक पटक जितहारको अनुभव संगालेका दुवै नेतामध्येका मरासिनीले अहिले दोस्रो पटक पराजय भोगेका छन् ।

मरासिनी राजनीतिसँगै शिक्षा क्षेत्रमा लामो समय बिताएका छन् । मरासिनी अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेर चुनाव जितेका थिए। तर, अहिले एमालेको विभाजन र कांग्रेससहितको गठबन्धनका कारण उनी पराजित हुन पुगे । २०७४ सालको निर्वाचनलाई फर्केर हेर्दा नारायण मरासिनीले ३९ हजार २६६ मत ल्याएर जित हाँसिल गरेका थिए भने २८ हजार ६६२ मत ल्याएर थापा पराजित भएका थिए ।

को हुन राजु थापा ?

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ मा २०३३ सालमा जन्मिएका थापा अहिले नेपाली कांग्रेसका जिल्ला सभापति रहेका छन् । थापाले १३ बर्षको कलिलो उमेरमा २०४६।०४७ सालको जनआन्दोलनलाई नजिकैबाट निहाले । उनी विद्यालय तहदेखि नेपाल विद्यार्थी संघमा आवद्ध रहेका थिए । एसएलसीसम्मको अध्ययन स्याङ्जाकै काजीमान हरिटीका माध्यमिक विद्यालयमाअध्ययन गरेका थापाले एमाले निकट अनेरास्ववियूको वर्चस्व रहेको पृथ्वीनारायण क्याम्पसबाट अझ आफ्नो विद्यार्थी राजनीतिलाई निखारे । जिल्ला सभापति बनेपछि थापाले स्थानीय तहको निर्वाचन २०७९ मा समेत जिल्लामा रहेका ११ स्थानीय तहमा पाँच नगरपालिकामध्ये ४ नगरप्रमुख, ५ वटै नगर उपप्रमुखसहित एक गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको थियो । यस्तै ९७ वडा रहेको जिल्लामा कांग्रेसले ५६ वटा वडामा विजयी हाँसिल गराउन उनकै भूमिका महत्वपूर्ण देखिएको थियो ।

कृषिबाट रोजगार सिर्जना गर्ने पहिलो एजेन्डा

थापाले निर्वाचन जितेसँगै कृषि क्षेत्र नै स्याङ्जाली जनताको आयाआर्जनको बाटो रहेको बताएका छन् । थापाले भने, “बर्षौदेखि यहाँका जनताले कृषि गर्दै आएका छन् । तर दैनिकी टार्नको लागि मात्र गरेको कृषिले न त देशको नै विकास हुन्छ न त जनताको नै आयाआर्जनमा वृद्धि हुन्छ । त्यसकारण हामीले पहिला कृषिलाई प्रथामिकता दिन्छौँ ।’’

त्यसैगरि निर्वाचितसँगै स्याङ्जाको विकासका लागि सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने र वर्तमान आवश्यकता र परिवेस सुहाउँदो नीति निर्माणमा आफ्नो ध्यान रहने थापाको भनाइ रहेको छ । विकासको कार्य जस्तै सडक, पुल निर्माण जस्ता कार्यमा संघीय सरकारले गर्ने र बाकीँ यहाँको कृषि क्षेत्रको विकासमा आफूले भूमिका खेल्ने थापाले बताए ।

लुम्बिनी सञ्चारसँग कुरा गर्दै थापाले स्थानीय तहलाई समेत आत्मनिर्भर बनाउन भूमिका खेल्ने बताएका छन् । उनले भने, “यहाँ सुन्ताला, कागतिदेखि अन्य विभिन्र बालीहरुको उत्पादनमा जोड दिदाँ हामीले यहाँका स्थानीय तहलाई आत्मनिर्भर बनाउन सकिन्छ । त्यसका लागि मलाई स्याङ्जाली जनताको साथ र सर्मथनको आवश्यक रहेको छ ।’’



प्रतिक्रिया दिनुहोस !