७ बैशाख २०८१, शुक्रबार

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान: यस्तो छ उनको जीवनी

प्रकाशित मिति :  26 March, 2023 5:49 pm


काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषद्को चैत १० गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित भएका छन् ।

नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आइतबार आयोजित विशेष समारोहबिच गृहसचिव विनोद प्रकाश सिंहले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई दर्ज्यानी चिन्हबाट सुशोभन गरेका हुन् ।

 सुशोभन समारोहमा गृहसचिव सिंहले नेपाल सरकार गृह मन्त्रालयको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरलाई बधाई तथा कार्यकाल सफलताको कामना गरेका थिए ।

सिंहले कार्यकालमा नेपाल प्रहरीमा गुणात्मक सुधार हुने, प्रहरी संगठन उच्च मनोबलका साथ काम गर्नसक्ने र नेपाल सरकारले प्रहरी संगठनमाथि थप गर्व गर्नसक्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

प्रहरी संगठन जनताले विश्वास गर्ने र संरक्षकको रूपमा आशा गर्ने संगठन भएको चर्चा गर्दै गृहसचिव सिंहले प्रहरीले प्रवाह गर्ने सेवालाई अझ बढी सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताए ।

गृहसचिव सिंहले प्रहरीले सबैभन्दा बढी जनतासँग नजिक भएर प्रभावकारी एवं उत्तरदायी भई काम गर्नुपर्ने तथा प्रहरी संगठनको समस्या तथा संगठनलाई सुधार गर्नुपर्ने विषयहरू सबैलाई बढी चासोका विषय भएको उल्लेख गर्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट संगठनको आन्तरिक सुदृढिकरणको लागि भएका प्रतिबद्धताको कार्यान्वयनप्रति आशावादी रहेको बताएका छन् ।

नेपालको संविधानले मार्ग निर्देशित गरेको संघीय स्वरूपमार्फत विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्ने प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बताए ।

उनले भने, ”कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रूपमा संस्थागत गर्दै प्रहरीको आन्तरिक शुद्धिकरण मेरो भिष्मप्रतिज्ञा हो र यसबाट म किंचित पनि डगमगिने छैन ।” 

कार्यक्रममा नेपाली सेनाका रथी सिताराम खड्का, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरू एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

काे हुन् प्रहरी महानिरीक्षक कुँवर ?

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका हुन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ तुम्कोटमा पिता भिम बहादुर कुँवर र माता नम कुमारी कुँवरको कोखबाट वि.सं. २०२६ चैत १५ गते जन्मिएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका श्रीमती लक्ष्मी पाराजुली कुँवर र २ छोरा हुन् । प्रहरी महानिरीक्षक कुँवरले वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका हुन् । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गरेका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन प्राप्त गरेका थिए । उनले प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदकलगायतका विभूषणबाट विभूषित भएका हुन् ।

आफू र मातहतमा निष्ठावान भए संगठन बलियो हुन्छ भन्ने मान्यता राख्दै काम गर्ने अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, गोरखा, डोटी, मनाङ, ललितपुर र धादिङ जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गरेका थिए । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उनले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।

राष्ट्र र राष्ट्रियताको रक्षा खाँतिर अहोरात्र खटिने प्रहरी महानिरीक्षक कुँवर देशमा मात्र होइन संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा कार्यरत रहँदा व्यावसायिक क्षमताको उच्च प्रदर्शन गरी काम गर्दै विश्व जगतमा नेपाल प्रहरीको छवि र नेपालको शिर उँचो राख्न आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए । जनशक्ति उत्पादन गर्ने प्रशिक्षण संस्थामा कार्यरत रहँदा उनले प्रशिक्षण विधिलाई आधुनिकीकरण गर्न निर्वाह गरेको भूमिका सराहनीय छ ।



प्रतिक्रिया दिनुहोस !