२७ माघ २०८२, मंगलबार

गाउँपालिकाभन्दा नगरपालिकामा बस्नेको संख्या बढी

प्रकाशित मिति :  23 April, 2023 3:19 pm


काठमाडाैँ । नेपालको कुल जनसंख्यामध्ये नगरपालिकामा बस्ने जनसंख्या सबैभन्दा बढी रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी केन्द्रीय तथ्यांक विभागले जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका निर्देशक ढुण्डिराज लामिछानेले नगरपालिकामा बस्नेहरुको कुल जनसंख्या १ करोड ९२ लाख ९६ हजार ७८८ (६६।२) प्रतिशत रहेको बताए । त्यस्तै गाउँमा बस्नेको संख्या ९८ लाख ६७ हजार ७९० (३३।८ प्रतिशत) रहेको बताए । २०६८ को जनगणनाअनुसार नगरपालिकामा बस्नेको संख्या १७।१ प्रतिशत थियो भने गाउँपालिकाहरुमा बस्नेको संख्या ८२।९ प्रतिशत रहेको थियो ।

नेपालको लैङ्गिक अनुपात प्रति सय महिलामा पुरुषको संख्या ९५।५९ जना रहेको छ भने नगरपालिकाको ९६।०६ र गाउँपालिकाको ९४।६८ रहेको छ । कुल जनसंख्यामध्ये अन्य लिङ्गी को जनसंख्या २ हजार ९२८ रहेका छन् भने उक्त संख्या नगरपालिकामा २ हजार ११८ र गाउँपालिकामा ८१० जना रहेको निर्देशक लामिछानेले बताए । २०६८ पछिको १० वर्षमा नेपालको वार्षिक औषत जनसंख्या वृद्धिद्धर ०।९२ प्रतिशत प्रतिवर्ष रहेको छ ।

नेपालमा कुल परिवारमध्ये पुरुष परिवारमुली रहेको परिवार ६८।५ प्रतिशत र महिला परिवारमुली रहेको संख्या ३१।५ प्रतिशत रहेको छ । नेपालमा जम्मा १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्ने पाइएको छ ।

नेपालमा १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३।१ प्रतिशत व्यक्तिहरु अविवाहित रहेका छन् । देशको कुल जनसंख्याको २।२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । जनगणनाअनुसार जन्मस्थान र हालको बोसवास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्तिहरु ६९।० प्रतिशत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !