२६ माघ २०८२, सोमबार

संखुवासभामा सुख्खा पहिरो खस्दा थुनियो अरुण नदि

प्रकाशित मिति :  30 April, 2023 2:38 pm


काठमाडौं । सङ्खुवासभामा सुख्खा पहिरो खस्दा अरुण नदि थुनिएको छ ।

निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको पहिरो खस्ने क्रम अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ ।

अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए ।

‘टनेलको पानी निष्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो’, गोदारले भने । अरुण नदीको बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेल मार्फत नदी बग्दै आएको थियो ।

टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ । पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने गोदारले बताए ।

पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ ।



प्रतिक्रिया दिनुहोस !