२६ माघ २०८२, सोमबार

रोल्पामा अफिम खेती बढ्दो,ओसारपसारमा महिलाको प्रयोग

प्रकाशित मिति :  1 May, 2023 11:12 am


उमा केसी

राेल्पा । रोल्पामा अफिम खेती बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले प्रत्येक वर्ष ठुलो क्षेत्रफलमा लगाई राखेको आफिम खेती नष्ट गरे पनि कमी आउन सकेको छैन ।

थबाङ, परिवर्तन र त्रिवेणी गाउपालिका भित्रमा बढीमात्रामा अफिम खेती गर्ने गरेको पाइएको छ । अवैध रुपमा अफिम खेती भैरहेको सूचनाका आधारमा प्रहरीले उक्त अफिम खेती नष्ट गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक वर्ष २०७७/०७८ मा त्रिवेणी गाउँपालिका वडा नं. ७ भित्री खोला र परिवर्तन गाउँपालिका वडा नं. ६ मा १८ रोपनी क्षेत्रफलमा लगाई राखेको अफिम खेती नष्ट गरेको थियो ।

उसले आर्थिक वर्ष २०७८/७९ मा परिवर्तन गाउँपालिका वडा नं. ४ मा २२५ रोपनी क्षेत्रफलमा लगाएको अफिम खेती नष्ट गरको थियो ।

उसले सोहीवर्ष थबाङ गाउँपालिका वडा नं. ४ मालागिरी,जुत्तर,नयाँगाउँ र गुराँसेमा करिब २१० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको थियो । चालु आर्थिक वर्षमा समेत जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा गरिदै आएको अफिम खेती नष्ट गरेको छ ।

प्रहरीले परिवर्तन गाउँपालिका वडा नंं ४ र ५ का विभिन्न वस्ती तथा जंगलको बिचमा करिब २८ रोपनी क्षेत्रफलमा लगाएको २५ हजार ५०० अफिमका बोट नष्ट गरेको हो ।

आफिम खेती नष्ट गर्न जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) श्याम सारु मगर नेतृत्वको ३८ जनाको प्रहरी टोली र सोही कार्यालयका प्रहरी निरीक्षक नेतृत्वको ३० जनाको अर्को प्रहरी टोली खटिएको थियो ।

अफिम नष्ट गरेपछि डीएसपी सारुले भने,“जिल्लामा प्रहरीले अवैध अफिम खेती नष्ट गरेका यी प्रतिनिधि उदाहरणले रोल्पा लागु औषध उत्पादन र ओसार पसारको ट्रान्जिट प्वाइन्ट बन्न लागेको पुष्टी गर्छ ।”

सीमित जनशक्ति र श्रोत साधनको प्रयोग गरि स्थानीय जनताको सहयोगमा प्रहरीले लागु औषध नष्ट गरे पनि प्रहरीको आँखा छलेर यस्तो उत्पादन ठूलो मात्रामा हुने गरेको उनको भनाई छ ।

उनले भने,“प्रहरीको पहुँच कम भएका र दुर्गम क्षेत्रहरूमा खेती विस्तार भएको देखिन्छ । वस्ती भन्दा अलि टाढा जंगलमा खेती गरेको देखिन्छ । खेती कसले गर्‍यो भन्ने पनि थाहा हुँदैन । खेती गरेर ठुलो भएपनि स्थानीयहरूले सुराकी दिने गर्दछन् त्यसैको आधारमा प्रहरीले खेती नष्ट गर्ने गर्दछ ।”

जिल्लामा लागु औषध उत्पादन र ओसार पसारका घटना समेत बढ्न थालेसँगै प्रहरी यसको नियन्त्रणमा सचेत ढंगले अघि बढेको डीएसपी सारुमगरको भनाई छ ।

ओसार पसारमा महिलाको प्रयोग बाहिरबाट आएर लागु औषध खेती गर्न प्रोत्साहन गर्ने र ओसार पसारमा उनीहरूलाई नै प्रयोग गर्दा रोल्पाली महिलाहरू अहिले कारागारको कठघरामा जीवन बिताउन बाध्य भएका छन् ।

रोल्पाको बाटो हुदै रुकुमपूर्व तथा बागलुङ जिल्लाबाट समेत लागु औषध ओसार पसार हुने गरेको प्रहरीको भनाई छ । ओसार पसारका अधिकांश घटनामा महिला प्रयोग हुने गरेका छन् ।

५ असोज २०७७ बेलुकी जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीको नजर रोल्पा थवाङ गाउँपालिका २ छेर्लोबाङ स्थित गाउँको गोरेटो बाटोमा हिडिरहेका थबाङ गाउँपालिका वडा नं. २ ठूलोगाउँकी ४५ वर्षीया मुली झाँक्रीमगर र ३५ वर्षीया विन ज्योती रोका मगरमा प¥यो ।

प्रहरीले शंका गर्दै मुली र विनज्योतीको शरिर खानतलासी गर्दा लागु औषध अफिम भेट्यो । मुली झाँक्रीमगरले बोकेको झोलावाट लागु औषध (अफिम)४ किलो ९३५ ग्राम तथा विनज्योती रोकामगरले बोकेको झोलाबाट ४ किलो ८८५ ग्राम बरामद गर्‍यो ।

पक्राउ परेका दुबैजना १४ मंसिर २०७७ गतेको रोल्पा जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान भए ।

१७ असोज २०७७ बेलुका ६ बजे रोल्पा सुनिल स्मृति गाउँपालिका वडा नं.२ खुग्री प्रहरी चौकीले दाङ जाँदै गरेको स्कारपियो जाँचका गर्दा लागु औषध अफिम फेला पार्‍यो ।

बा.१५ च ३७७६ नम्बरको गाडीको पछाडी डिक्कीमा लुकाई राखेको अवस्थामा ४ किलो ३०० ग्राम अफिम फेला पर्‍यो । गाडीमा सवार दाङ गढवा गाउँपालिका ६ बस्ने ३० वर्षीया निसा पुन र हापुर ६ बस्ने ४५ वर्षीया दिलप्रभा बुढामगरको मिलोमतोमा ल्याएको प्रहरीले पत्ता लगायो ।

सो गाडी चालक रोल्पा सुनछहरी गाउँपालिकावडा नं. १ घर भई घोराही उपमहानगर पालिका १४ वस्ने ३५ वर्षीय यामबहादुर घर्तीमगर, सुर्खेत जिल्ला गुर्वाकोट गाउँपालिका-९ बस्ने ३३ वर्षीय मोतिलाल परियार र रुकुम भूमे गाउँपालिका वडा नं. ६ का ३७ वर्षीया ज्योती घर्तीमगरलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेको थियो ।

सो मुद्धामा २४ मंसिर २०७७ मा भएको रोल्पा जिल्ला अदालतको आदेशमा दिलप्रभा बुढाले १ लाख ५० हजार र याम बहादुर घर्तीमगरले २ लाख ५० हजार धरौटीमा छुटे पनि बाँकी ३ जना पुर्पक्षका लागि कारागार चलान भए ।

१२ वैशाख २०७८ मा रोल्पा त्रिवेणी गाउँपालिका ७ भित्रिखोला बस्ने ४० वर्षिय रतन बुढाको ३ रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरी चौकीजुँगार वाट खटिई गएको प्रहरी टोलीले नष्ट गर्‍यो ।

उक्तखेतीमा संलग्न रहेको आरोपमा सोही ठाउँका ३५ वर्षीया मनकुमारी बुढा र माडी गाउँपालिका २ पारिबाङका ३७ वर्षीय पर्शुराम बुढालाई पक्राउ गर्‍यो । प्रहरीका अनुसार लागु औषधको उत्पादनमा अधिकांश पुरुषहरूको र ओसार पसारमा महिलाको संलग्नता देखिन्छ ।

पक्राउ परेकाहरूलाई हेर्दा उत्पादनमा पुरुष र ओसारपसारमा महिलाको प्रयोग भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले भने,“कतिपयलाई आफुले उत्पादन गरेको लागु औषधबारे समेत राम्रोसँग जानकारी नभएको पाइयो । अरुनै प्रजातिको विउ दिएको भन्दै लागु औषधका संकलकहरूले हिरोईनको विउ दिएर उत्पादन गराएको समेत देखियो ।”

सोझो र ईमान्दारिताको फाईदा उठाएर दलालहरूले महिलालाई प्रयोग गरेको देखिएको महिला मानव अधिकार रक्षक संन्जालकी अध्यक्ष तिर्था आचार्यले बताइन् । उनले भनिन्,“ महिलाको आर्थिक अवस्था कमजोर भएको र छोटै समयमा धनि बन्ने लालसाले महिलाहरू यस्ता घटनामा फस्ने गरेका छन् ।”

लागुऔषधका यस्ता घटनामा ३० देखी ४० वर्ष उमेर समुहका महिलालाई प्रयोग गरेको देखिएको प्रहरीको तथ्याङ्क छ । जघन्य र संगठित अपराध मानिने लागुऔषध अफिम ओसार पसारमा समूहगत संलग्नताको आवश्यकता पर्दछ ।

उत्पादनको काममा महिलालाई कम प्रयोग गरि ओसार पसार जस्तो जोखिमपूर्ण काममा बढी मात्रामा प्रयोग हुदा उनीहरू कानुनको फन्दामा समेत परेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !