धादिङमा भासिएको पुल अझै बनेन, १२ बजेसम्म एकतर्फी खुलाउने तयारी
काठमाडौँ । धादिङको गणेशखोलामा रहेको पुलको मुखनिर जमिन भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुल्न अझै केही समय लाग्ने भएको छ। हिजोदेखि भासिएको पुल मर्मत हुन नसक्दा १८ घण्टादेखि सडक अवरुद्ध भएको छ ।
अपराह्न १२ बजे भन्दा अगाडि कम्तीमा एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।
बाटो मर्मतको काम नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डले गरिरहेको छ । मर्मतको काम अन्तिम चरणमा रहेकाले ‘१२ बजेसम्म एकतर्फी भए पनि खुलाउने गरी काम भइरहेको छ’ उनले बताए ।
राजमार्ग अवरूद्ध हुँदा साना सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। काठमाडौं आउने सवारी साधनले गल्छी-नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन राजपथबाट हेटौंडाहुँदै गएका छन्।








