कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउनु हुँदैनः आयाेग अध्यक्ष मगर
काठमाडाैँ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउनु नहुने बताएका छन्। बुधवार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रेस जगतले निष्पक्ष, स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने बताए।
उनले स्वतन्त्र प्रेसका मूल्य,मान्यतालाई आत्मासाथ गर्दै आम जनतालाई सुसूचित गराउने वातावरण सरकारले तयार बनाउनुपर्नेमा जाेड दिए । मुलुकको मर्म बमोजिम प्रेसको रक्षा गर्नु सबैको दायित्व रहेको भनाइ उनकाे छ ।
पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेसलाई नियन्त्रण, आक्रमण, आफू अनकुल लेख्न लगाउने प्रवृति अझै कायम रहेको बताए। उनले नेपालमा अझै प्रेसमाथि नियन्त्रण तथा आक्रमणका घटना हुँदै आएकाले नेपालमा प्रेस स्वतन्त्रताको सवालमा सुरक्षित छौं भन्ने अवस्था नभएको दाबी गरे ।

पाेखरेलले प्रेस स्वतन्त्रता माथि राज्यपक्ष तथा गैरराज्य पक्षबाट आक्रमण गर्नेलाई कानूनी रुपमा कारबाही गर्ने प्रक्रियाको थालनी हुन जरुरी रहेको जानकारी गराए । उनले नेपालमा प्रेसमाथि आक्रमण गर्नेहरु अहिलेसम्म कानूनी दायरामा आएको नपाएको बताए।
अझै पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानून निर्माण हुन नसकेको भन्दै सरकारले तत्काल पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानून बनाउन आवश्यक रहेको बताए । पाेखरेलले इन्टरनेटको विकाससँगै शुरु भएको डिजिटल पत्रकारिता चुनौति र अवसरकोबिचमा रहेकाे चर्चा गरे।
महासंघले पछिल्लो एक वर्ष वर्षम नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा महासंघले मे ३ सन् २०२२ देखि २६ अप्रिल २०२३ सम्ममा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रेस स्वतन्त्रता हननका ५५ वटा घटनामा ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएको महासंघले जनाएको छ । एक वर्षको अवधिमा कब्जा अवरोधका सात, दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा, लैङ्गिक हिंसाका दुई, बिस्थापन एक र पेशागत असुरक्षाका ५५ वटा घटना भएको महासंघले जानकारी दिएको हो ।









