२५ माघ २०८२, आइतबार

अर्घाखाँचीमा ४ जनाको मृत्यु हुने गरि वनमा आगो लगाएकाे आराेपमा पक्राउ

प्रकाशित मिति :  16 May, 2023 2:37 pm


अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा न २,ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

वनमा काडाँमा लगाएको आगो सल्किएर गाउँमा पसेपछी निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको थियो । गत बैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो ।

घाइते एक महिलाको अहिले पनि उपचार भइरहेको छ । वनमा आगो लगाएको आरोपमा भूमिकास्थान—२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दिपक बिक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

जंगली जनावरले सताएर वनमा आगो लगाएको उनीहरूले स्विकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यान सम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्राँई गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यो नियममा ६ महिनादेखी दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

अदालतबाट पाँचदिनको म्याद थप गरेर घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै सन्धिखर्क ७,खाँचीकोटको सामुदायिक वनमा आगो लगाएको आरोपमा पक्राउ परेका ४१ वर्षीय इश्वरीप्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क ३,खाँचीखर्कमा आगो लगाउने ५० वर्षिय मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाउको छ ।

जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जनाउने, हेलचेक्राँई गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षति बढेपछी प्रहरीले सक्रियता देखाएको छ ।

“हेलचेक्राँई गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौं,”डिएसपी रिजालले भने,“फागुनदेखी असारसम्म सबै चनाखो बन्नुहोला ।”



प्रतिक्रिया दिनुहोस !