२५ माघ २०८२, आइतबार

दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी

प्रकाशित मिति :  17 May, 2023 10:56 am


काठमाडौँ । दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।

ललिपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरुरूलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो ।

सिमकार्ड निःशुल्क रुपमा वितरण भइरहेको भएपनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको पाइएको छ ।

सिमकार्ड वितरण निशुल्क वितरण गर्ने भनिएपनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।

उनले अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई जानकारी दिएको बताए ।

उनले अवैध रुपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारवाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिए ।

कटुवालले सिमकार्ड वितरण कार्य नरोकिए पछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको बताए ।

ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यालय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङ्ग लगायतका कार्यहरू बजार मूल्य भन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको पनि बताए ।

उनले त्यस्ता ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको बताए ।

ईपीएस कोरिया शाखाले अवैध सिमकार्ड वितरण र सेवाग्राहीहरुको फारम भर्ने लगायत सेवा सम्बन्धी अन्य कार्यहरु गर्दा उपोभोक्तलाई ठगी गर्ने गरेको बारे सम्बन्धी निकायलाई ताकेता गरेको करिव ५ महिना पुग्न लाग्दा समेत सम्बन्धी निकाय भने मौन देखिएको कटुवालको गुनासो थियो ।

उनले हालसम्म प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन समेत गर्न नआएको बताए ।



प्रतिक्रिया दिनुहोस !