देउखुरीमा भएको बस दुर्घटना रोल्पाकी एक महिलाको मृत्यु
काठमाडौँ । दाङको देउखुरीमा दुई बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा रोल्पाकी एक जना महिलाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि ४३ वर्षीया शोभा परियार रहेकी छन् । उनी बाराको इट्टा भट्टामा काम गरेर २ छोरा सहित घर फर्कदै थिइन्। उनका २ जना छोरा पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन्। तीमध्ये अधिकांश इँट्टा मजदुर रहेका छन् ।








