वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान
काठमाडाैँ । नेपाल प्रज्ञा प्रतिष्ठानले वृहत नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आायेजित पत्रकार सम्मेलनमा वृहत नेपाली शब्दकोसमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको वृहत नेपाली शब्दकोसमा विवादित शब्दहरूको रहेको भन्दै धेरै उजुरी आएको बताए । उनले वृहत नेपाली शब्दकोसमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको बताएका हुन् । उनले वृहत शब्दकोस परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरूसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताएका हुन् । उनले हेरक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामुलक र समावेशी बनाउने बताए ।
उनले प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरूलाई साहित्यिक पत्रकारिता राष्ट्रिय पुस्कारबाट सम्मान गरिने निर्णय भएको बताए ।
कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटर लैजानुपर्ने चुनौति रहेको बताए । उनले आगामी ४ वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको बताएका छन् ।








