दुध दिवसको अवसरमा डेरी एसोसिएसनद्वारा आश्रममा दुध पान गराउँदै एक लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाल डेरी एसोसिएसनले विश्व दुध दिवस २०८० को उपलक्ष्यमा ललितपुरको हत्तिवन स्थित नवकिरण अनाथ असाहाय बाल उत्थान समाज १ लाख रुपैयाँ सहयोग गर्नुका साथै दुध तथा दुग्ध पदार्थ सेवन गराएको छ ।
४५ जना बालबालिका रहेको अनाथालयलाई एसोसिएसनले उनीहरूको शिक्षाका लागि बागमती प्रदेश र काठमाडौं जिल्ला समितिबाट नगद रु. १ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले एसोसिएसनको सहयोगको प्रशंसा गरे ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले एसोसिएसनका उपस्थित सबैलाई धन्यवाद दिँदै सबैको प्रयासले सहयोग गर्न सम्भव भएको बताए ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमलाले एसोसिएसनले आफ्ना हरेक विशेष कार्यक्रमहरू विद्यालय, आश्रम, अस्पताल लगायतका स्थानहरूमा दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाउने गरेको जानकारी दिए ।
बागमति प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरेले अनाथ बालबालिकालाई आश्रममा हाँसी खुशीसहित रमाईलो वातावरणमा शिक्षादिक्षा प्रदान गरि लालनपालन गर्नु पुण्य कार्य भएको बताए ।
कोशी प्रदेशका अध्यक्ष गंगाबहादुर खड्काले आश्रम सञ्चालकको यो महान कार्यमा एसोसिएसनले थोरै भए पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
नेपाल डेरी एसोसिएसनले जेठ १८ गते देशैभरि विभिन्न कार्यक्रम गरि विश्व दुध दिवस भव्यताका साथ मनाउँदै छ ।








