२६ बैशाख २०८१, बुधबार

पैदलयात्रीलाई गन्तव्य पुर्याउदै प्रदेश ५ सरकारः ४८३ को नमूना नेगेटिभ, ५२ भारतीय नेपालगञ्ज एकान्तवासमा

प्रकाशित मिति :  18 April, 2020 1:16 pm


रूपन्देही, ६ बैशाख । 

अफ्ठेरोमा परेकालाई जिल्ला पठाउने संघीय सरकारको छलफलमाथी कडा अपत्ति जनाएको प्रदेश-५ सरकारले पैदल घर जान हिँडेका नागरिकलाई गन्तव्यसम्म पुराउने शुरु गरेको छ ।

मानिसहरु हिँडेरै घर जान थालेपछि प्रदेश—५ सरकार लचक बनेको हो ।

अहिले विभिन्न ठाँउबाट प्रदेश-५ भित्र पुगेकालाई क्वारेन्टाइन राख्ने तथा खानपिनसहित घरसम्म पुग्ने व्यवस्था मिलाएको हो ।

पूर्वपश्चिम राजमार्गमा काठमाडौंँ, धादिङ, चितवनलगायत जिल्लाबाट आउने मजदूर, विद्यार्थी र सर्वसाधारण दिनदिनै बढ्दै गएपछि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी पैदल यात्रुको व्यवस्थापनको काम थालेको आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जानकारी दिए ।

उनले भने,‘ मान्छेहरु हिँडेर आएका छन् ।  भोकै मर्न त दिनु भएन । स्थानीय निकायसँग समन्वय गरेर पठाउने काम जारी     छ ।’

प्रदेशका नाकामा रहेका स्थानीय तहले आफ्नो सीमामा आएका पैदल यात्रुलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीय क्वारेन्टाइनमा लगेर स्वास्थ्य जाँँच गर्ने र गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाईएको छ । मन्त्री केसीले भने,‘ कोही विरामी छ वा अफ्ठेरो परेको छ भने अस्पतालमा समेत राख्ने व्यवस्था गरेका छौं ।’
प्रदेश-५ को पूर्वतर्फको प्रवेश नाका बर्दघाटसम्म आएकाहरुलाई रोकेर त्यहीँका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।

नुवाकोटबाट आज विहान रोल्पा पुगेका ६५ जना श्रमिकको होलेरीमा स्वास्थ्य जाँच गरिदै । फोटो : दिपक डाँगीको फेसबुकबाट

बर्दघाटमा एक सय जना अट्ने अस्थायी क्वारेन्टाइन बनाइएको छ । संख्या बढ्दै गएमा राजमार्गमा पर्ने बर्दघाटभन्दा पश्चिमका स्थानीय तहमा व्यवस्थापन गरिने छ ।

सुरक्षा निकाय र स्थानीय तहले प्रदेशको सीमाभित्र प्रवेश गरेका नागरिकलाई व्यवस्थापन गर्ने काम शुरु गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट समेत लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका    छन् ।

उनले भनेका छन्,‘घर जान भनेर प्रदेश नं ५ भित्र आइपुगेका सबैलाई प्रहरीको सहयोग लिएर नजीकैको क्वारेन्टाइनमा गइदिनु होला ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदूर बढी समस्यामा परेका छन् ।

समस्या बढ्दै गएपछि संघीय सरकारले उद्धारका गर्ने निर्णय सार्वजनिक भए लगत्तै मुख्यमन्त्री शंकर पोखरेलले तत्कालै आपत्ति जनाएका   थिए । प्रदेश—५ सहित प्रदेश सरकारको दाबावपछि संघीय सरकार पछि हटेको थियो ।

स्रोतका अनुसार प्रदेश ५ सरकारले फोन गरेरै संघीय सरकारका केही मन्त्रीहरुसँग उपत्यकाका मानिसहरु बाहिर पठाउनेहरु निर्णयको विरोध गरेका थिए ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले भने संघीय सरकारले तलमेल नमिलाउँदा आफूहरुले असहमति जनाएको बताए ।

उनले भने,‘प्रदेश वा स्थानीय निकायलाई जिम्मा दिने भनेको भएपनि केही सहज बनाउन सकिने थियो तर एकमुष्ट निर्णय गर्दा चाप धान्न सक्ने अवस्था थिएन । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई जिम्बेवारी नदिने तर समग्रमा निर्णय गर्दा अफ्ठेरो भएको हो ।’

प्रदेश ५ सरकारले अहिले क्वारेन्टाइनमा बस्नेलाई बसाल्ने र घर जान चाहनेलाई स्थानीय सरकारसँग समन्वय गरेर पठाउने गरेको छ ।

प्रदेश ५ भित्रका राजमार्ग क्षेत्रमा पर्ने स्थानीय निकायले हिडेर आएका पैदल यात्रुका लागि व्यवस्थापन गर्न सहयोग गरिरहेका छन् ।

५२ भारतीयलाई नेपालगञ्ज एकान्तवासमा

काठमाडौंँका विभिन्न इँटाभट्टामा काम गर्ने भारतीय मजदूरलाई शुक्रबार नेपालगञ्जको एकान्तवासमा राखिएको छ । बन्दाबन्दीमा काम ठप्प भएपछि उनीहरु काठमाडौंँबाट नेपालगञ्ज हुँदै भारततर्फ जान लागेका थिए ।

शुक्रबार बेलुका नेपालगञ्ज आइपुगेका ५२ भारतीय नागरिकलाई नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको एकान्तबासमा राखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

भारत तथा नेपाल दुवैतर्फ लकडाउन गरिएकाले सो अवधि सकिएपछि मात्र उनीहरुलाई भारत पठाउन सकिने चन्दकाे भनाइ छ । बाँकेमा अब एकान्तबासमा ३५६ जना भएका छन् ।

४८३ को नमूना परीक्षणमा नेगेटिभ

बाँकेमा ४८३ जनाको कोभिड–१९ नमूना परीक्षण गर्दा सबैमा रिपोर्ट नेगेटिभ देखिएको छ । र्यापिड डायग्नोष्टिक टेष्ट किटबाट ४०५ र पिसिआर विधिबाट ७८ जनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !