१५ बैशाख २०८१, शनिबार

च्याउ खेतिमा सम्भावना देखेकाे रौतहटको मियाँ परिवार, कमाइ मासिक एक लाखसम्म

प्रकाशित मिति :  13 July, 2023 9:00 am


आरके श्रीवास्तव/रौतहट । 

रौतहटको कटहरिया नगरपालिका वडा नं. ४ स्थित बलिरामपुरका जाँगरिला किसान हुन् सुदिन मियाँ । कृषकको उत्पादनले मूल्य नपाएको, अनुदान नपाएर खेती गर्न नसकेको, उत्पादन नबिक्ने चिन्ताले सताएको, सम्भावना नदेखेर कृषि बाट पलायन हुन चाहेको जस्ता नकारात्मक अवस्था र सोंच बाट उनको परिवार मुक्त छ । 

मियाँको सिंगो परिवार व्यवसायीक च्याउ खेतिमा रमाइरहेको छ । पारिवारिक आत्मसन्तुष्टी र उत्पादनबाट नियमित आम्दानी उनको च्याउ खेतिमा निरन्तर लाग्ने उर्जाको स्रोत हो । विगत आठ वर्षदेखि निरन्तर च्याउ खेतिमा संलग्न मियाँले पछिल्लो समयमा आफ्नै कटहरिया च्याउ उधोग दर्ता गराएर व्यवसाय गरिरहेका छन् । परिवार पनि साथमा, आम्दानी पनि हातमा छ उनको । 

मियाँले २०७२ सालमा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको च्याउ खेति सम्बन्धि तालिमपश्चात खेतिमा लागेका बताए । “ तालिम पछि च्याउ खेती गर्ने रहर जाग्यो, सुरुआतमा ५० हजार लगानी गरेर च्याउ उत्पादनमा लागें,” उनले भने, “विस्तारै परिवार नै लागेर उत्पादन बढाउन थाल्यौँ, अहिले ४ कठ्ठा क्षेत्रफलमा च्याउ खेति गरिरहका छौं ।” परिवारको साथले सफलता हात परेको उनको अनुभव छ । 

मियाँले दुई वटा टहरामा कन्ने च्याउको खेति गरिरहेका छन् । थप लगानी गरेर च्याउ खेति बढाउँदै जाने योजनामा उनी छन् । समय समयमा बजारको समस्या हुने गर्छ तर पनि हतोत्साहित छैन मियाँ परिवार । व्यवसायमा घाटानाफा भइरहन्छ भन्ने बारे अभ्यस्त छन् । 

औषतमा मासिक ५० हजारदेखि एक लाखसम्मको आम्दानीले उनको पारिवारिक आवश्यकता पुरा भइरहेको छ । मियाँले घरपरिवारको अलावा सिजनमा थप ५ जनालाई रोजगारी दिन्छन् । “अहिले प्रतिकिलो २ सयका दरले च्याउ बिक्री भइरहेको छ,” उनले भने । 

रौतहटको चर्चित बजार कटहरियामाको छेवमै च्याउ खेति भइरहेकाले ढुवानी गरेर टाढा लैजानु पर्ने बाध्यता भने छैन । बजारको माग अनुसार उत्पादन गर्ने गरेका छन् । मिया परिवारले इच्छाशक्ति भए कृषिबाट समृद्धि सम्भव छ भन्ने सन्देश दिइरहेको छ । 

मियाँले उत्पादन गरेको च्याउ उपभोग गरिररहेका कटहरिया ८ का उपभोक्ता शिवनाथ यादव ले प्राकृतिक रुपमाा पहाड तिर पाइने च्याउ घरछेउको बजारमा पाइएकोमा खुसी छन् । उनले च्याउ निकै स्वादिलो रहको बताए । अर्का उपभोक्ता कटहरिया वडा नम्बर १ का योगेन्द्र कुशवाहा पनि मियाँले उत्पादन गरेको च्याउ नियमित उपभोग गरिरहेको बताए । उनले भने, “कटहरियामा नै उत्पादन हुन थालेपछि हामी बिहान बिहानै ताजा च्याउ खरिद गरी खान पाएका छौँ, यो सबै हाम्रो लागि खुसीको खबर नै छ।” 

आफ्नै बुतामा च्याउ खेतिमा सफलता

तीन तहको सरकार छ मुलुकमा । संघीयतापश्चात तीनै तहका सरकारबाट प्राप्त हुने फरक फरक शीर्षकका अनुदान लिएर खेति गर्ने प्रचलन पनि छ । तर मियाँको परिवारले अनुदानको प्रलोभनमा नभइ आफ्नै बुताले खेति सुरु गरेको छ। मियाँकी श्रीमति, छाेरा र बुहारीले नियमित रूपमा च्याउ खेतिमा सघाउँछन् । छाेरी पनि समय समयमा माइत आउँदा हाैसला बढाउँछिन्।

कटहरिया नगरपालिकाको यस अघिका नगर प्रमुख सियाराम कुश्वाहाले च्याउ खेतिका लागि दुई लाख रुपैयाँ अनुदान सहयाेग गरेका थिए । प्रदेश सरकारबाट ५० प्रतिशत अनुदानमा काेल्डस्टाेर राखेका उनले बाँकी लगानी भने आफैले गरेका छन् । बैंक बाट ऋण लिएर व्यवसाय फस्टयाएका उनी आफ्नो श्रमलाई नै लगानी ठानेर कृषि कर्ममा रमाइरहका छन् । यद्यपी सरकारले कुनै दिन उनको कर्मलाई सम्मान गरेर साथ दिनेछ भन्ने विश्वास भने छ । बैंकले व्याजदर बढाइरहँदा भने मियाँलाई बेला बेलामा तनाव थपिन्छ ।  

बिउ उत्पादन पनि आफैंले सुरू उनी बताउँछन् । च्याउको बिउ उत्पादन गर्ने मेसिन नै खरिद गरेर बिउ उत्पादन गर्ने गरेका छन् । “मिहिनेत गर्न सके च्याउ खेती बाट राम्रै आम्दानी हुने रहेछ,” मियाँ भन्छन्, “विदेश जाने पैसा यही लगानी गरी व्यवसाय सुरु गर्ने हो भने घर परिवार सँग बसेर राम्रै आम्दानी गर्न सकिन्छ ।”  

च्याउ प्रवद्र्धनमा सरकारको कार्यक्रम कस्ता छन्?

चयाउ खेती प्रवद्र्धनका लागि सरकारको योजना तथा कार्यक्रम के कस्ता छन् त? मियाँले खेति गरिरहेको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवाल भन्छन्, “च्याउ खेतिकै लागि भनेर ठोस कार्यक्रम छैन तर कृषि विद्युतिकरणका लागि बजेट विनियेजन गरेका छौँ कृषि मिटर नगरभरी नै निशुल्क छ ।” 

कृषि ज्ञान केन्द्र गौरका प्रमुख हरिशंकर साहले रौतहटमा ५ देखि ६ मेट्रिक टन च्याउको माग रहेको जानकारी बताए । पठाउन पर्ने आवश्यकता देखिएको भनाइ उनको छ । रौतहटका किसानले बिउसमेत आफै उत्पादन गरिरहेकाले बाहिर बाट ल्याउन नपरेको बताए । जिल्लाभर ८ मेट्रिक टनसम्म उत्पादन भइरहेको उनले बताए । माग भन्दा बढी उत्पादन भइरहेकाले रौतहट बाहिर जिल्ला पठाउन आवश्यक देखिएको साहको भनाइ छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेश सरकारका सचिव डा.नम्रता सिंहले प्रदेशका सबै जिल्लास्थित कृषि ज्ञान केन्द्रहरुले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट उपलब्ध गराएको च्याउको बिउ ७५ प्रतिशत अनुदानमा वितरण गरिरहेको बताइन् । प्रदेश सरकारले बाली संरक्षण प्रयोगशाला बाट बिउ उत्पादन योजना मन्त्रालयको रहेको उनको भनाइ छ । “आगामी वर्ष आर्थिकदेखि च्याउ उत्पादन र प्रवद्र्धन कार्यक्रम चलाउने प्रदेश सरकारको योजना छ, यसबाट किसानले लाभ लिन सक्नु हुनेछ,” उनले भनिन् । 



प्रतिक्रिया दिनुहोस !