३ पुस २०८२, बिहिबार

मौद्रिक नीतिसँगै सेयरबजारमा छायो हरियाली, नेप्सेमा ६२ अंककाे वृद्धि

प्रकाशित मिति :  23 July, 2023 4:03 pm


काठमाडाैं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा उछाल आएको छ । नेपाल राष्ट बैंकले आइतबार (आज) चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भनिएको छ ।

राष्ट बैंकले मौद्रिक नीति सार्वजनिक गरेलगत्तै सेयरबजारमा उछाल आएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट बैंक सेयरबजारप्रति केही लचक बनेको सेयरबजारका विज्ञहरु बताउँछन् ।

यस वर्षको मौद्रिक नीति साविकका वर्षहरुको भन्दा उत्साहजनक रहेको नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोख्रेलले बताइन् ।

उनले भनिन्, “नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीति साबिकका बर्षहरुको भन्दा केही उत्साह जनक रहेको पाईयो । बिशेष गरी सेयर धितो कर्जाको जोखिमभारलाई पुनरवालोकन गरिने भनिएको छ, यसले सेयर बजारमा उत्साह ल्याउने नै देखिन्छ ।”

बिगत दुई बर्ष देखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले थोरै भएपनि मलम लगाएको पोख्रेलको भनाई छ ।

अहिले नै उत्साहित हुनुपर्ने अवस्था नआएको केही लगानीकर्ताहरु बताउँछन् । राष्टबैंकले ल्याएका नीतिहरु मोटामोटी हेर्दा सकरात्मनै छन् । तर स्पष्ट हुने गरी निर्देशिका आएपछि मात्रै ढुक्क हुने उनिहरुको भनाई छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि १४.४१ अंकले बढेर ४२४.९३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ८१ लाख ५९ हजार ३७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै आजको दिन किसान लघुवित्त वित्तीय संस्था र चन्दागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन नबिल ग्रोथ फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य १० प्रतिशतले घटेर नकरात्मक सकिृट लागेको छ ।

कुल २६६ कम्पनीको १ करोड २० लाख २ हजार ३ सय ८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २ सय ३२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !