७ जेष्ठ २०८१, सोमबार

राजनीतिको रुपान्तरणका लागि बहिर्गमन नीति अनिवार्यः महामन्त्री शर्मा

प्रकाशित मिति :  24 July, 2023 6:08 pm


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि बहिर्गमन नीति आवश्यकता रहेको बताएका छन् ।

सोमबार बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले बहिर्गमन नीति बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरू भइरहने प्रवृत्तिको अन्त्य हुने बताएका हुन् ।

उनले राजनीतिमा उमेर नभइ एजेण्डा महत्वपूर्ण हुने भएपनि महत्वपूर्ण पदहरूमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको बताए ।

‘रुपान्तरणको अभियान भनेर केही साथीहरूले नै कार्यक्रम गरेर हिँड्नुभयो, त्यहाँ कतिपय शब्द प्रयोग गर्दैगर्दा कमजोरी भएको छ भने ति साथीहरूले आत्मलोचना गरेर बस्नुपर्छ । तर त्यहाँ पनि केही महत्वपूर्ण विषयहरू संगठनका लागि गरौँ भनेर आएका छन् ।’ उनले भने, ‘त्यसलाई पनि काँग्रेसले ग्रहण गर्नुपर्छ । राजनीतिक रुपान्तरणको लागि एउटा के जरुरी देखियो भने एग्जिट पोलिसी जरुरी देखियो । त्यो एग्जिट पोलिसी भनेको त्यो सबैमा थियो भने धेरै वर्ष पहिला सभापतिले राजनीतिबाट राजीनामा दिनुहुन्थ्यो । केही वर्षअघि लहर चलेको थियो । ७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनेको थियो । एज नभइ राजनीतिमा एजेण्डा हुनुपर्छ भनेर मैले भन्दा म आलोचित भएँ । तर नेकपा एमालेले त्यसलाई ग्रहण ग¥यो, त्यसलाई लागू गरेको छ । हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाईले जस्तो ५ पटक हुन्थे भन्ने सोच्दैन । त्यसैले एग्जिट पोलिसी आवश्यक छ ।’

उनले पार्टीको कुनै सदस्यले कालो मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिनु नहुने बताए । महामन्त्री शर्माले कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !