४ जेष्ठ २०८१, शुक्रबार

उच्च तहका नेताको सम्पत्ति छानबिन गर्न कानुनमन्त्री गुरुङको माग

प्रकाशित मिति :  25 July, 2023 3:57 pm


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । उनले आयोग गठन गरेरै नेताहरूको सम्पति छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक दलका उच्च तहका नेताहरूको सम्पत्ति विवरण छानबिन गर्न पार्टीभित्रबाटै सरकारसँग आग्रह गर्नुपर्ने बताए ।

उनले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्नेमा जोड दिए । भ्रष्टाचारका ठूला ठूला काण्डहरूको फाइल खोल्दै अनियमितता गर्नेलाई कानूनी कठघरामा उभ्याउने बताए ।

निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्वाह नरहेको बताए ।

उनले भने,“ धनराज गुरुङ यदी फरक काँग्रेस हो, शेखर कोईराला यदी फरक काँग्रेस हो भने हामीले भन्नैपर्छ । पहिला हाम्रो सम्पत्ति छानबिन गरेर देखाउ सरकार भन्न सक्नुपर्छ । छानबिन समिति आयोग गठन गर भन्नुपर्छ म आफैँ सरकारमा छु । म भन्दैछु ।”

मन्त्री गुरुङले ढिलोचाँडो उच्च तहका नेताहरूको सम्पति छानबिन हुने दाबी गरे । उनले भने,“अब भन्नैपर्छ की नेपाल सरकारले सायद ढिलो चाँडो म पनि मन्त्री छु, सुझाव दिएकै छु । ढिलो चाँडो उच्च तहका नेताहरूको सम्पत्ति छानबिन आयोग गरेरै छोडिन्छ, कसैलाई छोडिँदैन ।”

उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताए ।



प्रतिक्रिया दिनुहोस !