२४ बैशाख २०८१, सोमबार

डेंगुका कारण ७ जनाको मृत्यु, संक्रमितकाे संख्या आठ हजार नजिक, धेरै संक्रमित धरानमा

प्रकाशित मिति :  7 August, 2023 3:36 pm


काठमाडाैँ । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। 

स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए।

सोमबार काठमाडाैँमा आयाेजित कार्यक्रममा बाेल्दै डा.मरासीनीले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनि डेंगु सर्न सक्ने बताए । 

डा.मरासीनिले भने, “गत वर्ष करिब ५४ हजार सात सय ८४ केसहरु रिपोर्टेड भएका थिए । जसमध्ये ८८ जनाको मृत्यु भएको रेकर्ड छ ।”

निजि स्वास्थ्य संस्थाको रेकर्ड सरकारसँग नहुन सक्ने भएकाले संख्या बढी हुन सक्ने अनुमान छ ।  डेंगुको पहिलो केस नेपालमा २०६१ सालमा देखिएको थियो । विभिन्न समयमा यसले महामारीको रुप लिने गरेको छ । सन् २०१९ र सन् २०२२ मा महामारीको रुप लिएको थियो । 

याे वर्ष मात्र नेपालमा जनवरी १ देखि अगष्ट ६ सम्म सात हजार सात सय ३३ केस रीपोर्ट भइसकेकाे विभागले जनाएकाे छ । सुनसरीको धरान उपमहानगरपालीकामा संक्रमित धेरै रहेकाे डा. मरासिनीकाे भनाइ छ । 

स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निशुल्क हुने गरेको जानकारी दिए । उनले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

सचिव डा.पोखरेलले भने, “डेंगु भएका व्यक्तिको उपचार नेपाल सरकारको सबै अस्पतालमा हुन्छ । र, यो निशुल्क उपलब्ध हुन्छ । डेंगु लागेको शंका लागेमा टेष्ट गर्नुपर्ने हो । टेष्टमा शुुल्कको एकरुपताका लागि मन्त्रालयले पनि समन्वय गरिरहेको छ । प्राइभेट अस्पतालहरुसंग पनि समन्वय गरेर टेष्टमा एकरुपता ल्याउने कोसीसमा छौं ।”

डेंगु परीक्षण गरेकाे कहीँ पाँच सय पचास रुपैंया कहिँ नौ सय रुपैंया पनि लिने गरेकाे पाइएकाे छ । “नेपाल सरकारका केहि अस्पतालमा डेंगु लागेको शंका लागेमा गर्नुपर्र्ने टेष्ट केहि निशुल्क पनि गरिरहेका छौं,” डा. पाेखरेलले भने ।

शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए। उनले डेंगुबाट बच्न लार्भा खोज र नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जाेड दिए । 

डा. शर्माले भने, “डेंगुका चार वटा सेरोटाइप मध्ये कुनै एउटा सेरोटाइपले इन्फेक्सन ग-यो भने कमसेकमपनि १८ महिनादेखि २ वर्षसम्म अर्को सेरोटाइपले इन्फेक्सन गर्दैन । डेंगी लागेपनि गम्भिर नभएसम्म अस्पतालमा नआएको देखिएको छ । डेंगुका गम्भिर विरामीमात्रै अस्पतालमा आएकाले विरामीको चाप कम देखिएको हुनसक्छ । डेंगी उल्लेख्य रुपमा बढेको छैन ।”



प्रतिक्रिया दिनुहोस !