युवालाई भविष्यप्रति आशावादी बनाउँदै विदेश जानबाट रोक्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले युवालाई भविष्यप्रति आशावादी बनाउँदै ९ लाख युवालाई विदेशी जान रोक्नु प्रमुख प्राथमिकताको विषय भएको बताएका छन् ।
बुधवार काठमाडौँमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले उद्यमशिलतालाई प्रोत्साहन गरी युवाहरूलाई उद्यमसिलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको बताए । उनले युवाहरूलाई भविष्यप्रति आशा जगाएर उद्यमशिलतामा लगाउन आवश्यक रहेको बताए ।
पूर्वअर्थमन्त्री खतिवडाले उद्यमशीलता अरूले सिकाएर नआउने भन्दै युवाहरू भित्रबाट आउनुपर्ने बताए । उनले उद्यमशीलता व्यक्तिको अन्तरनिहीत गुण भएकाले आयात गरेर वा सिकेर नहुने बताएका छन् । जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन सक्नेगरी नेतृत्व गर्नसक्ने क्षमता आफूभित्रबाट विकास गर्नु उद्यमशीलता भएको उनको भनाई छ ।
खतिवडाले परम्परागत रूपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशिलताको विकास हुन थालेको बताए । उनले अहिले विकास भएका उद्यमसिलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको बताएका छन् ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७५ सालदेखि युवा उद्यमीहरूलाई बैंकहरूले सहुलियतपूर्ण कर्जाको माध्यमबाट अगाडि बढाउन कोसिश गरिरहेका बताए । उनले युवालाई बैंकले उच्च प्राथमिकतामा राखेर युवा उद्यमी कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले बैंकले विगतमा युवालक्षित ७ वटा कर्जा योजना ल्याएकोमा अहिले १० वटा बनाएको उल्लेख गरे ।
उनले अध्ययन सकेर नयाँ उद्यमशीलता गर्छु भन्नेहरुलाई बिना धितो लगानी पाउन चुनौती रहेको बताए । उनले विना धितोको चुनौतिलाई आधार मानेर १० प्रकारकार कर्जा योजना ल्याएको विशेष गरी उत्पादन र रोजगारलाई जोड्ने श्रम बजारलाई उपयोग गर्ने रहेको बताए ।








