१२ आश्विन २०७९, बुधबार

महामारी बीमाको व्यवस्थापन र कृषि बीमाको प्रभावकारिता केन्द्रीय प्राथमकितामा छ: उप-निर्देशक अधिकारी

प्रकाशित मिति :  25 April, 2020 11:17 am


——————————

कुनै बेला बीमा भन्ने वित्तिकै आफन्तको मृत्युपछि परिवारलाई सहयोग हुन्छ भन्ने मनसायबाट प्रेरित बीमा क्षेत्र अहिले बहु आयामिक बीमा योजनाहरुमा केन्द्रीत छ ।

जीवन बीमा स्कीमहरु बचत बीमाका रुपले चीनिएका छन् ,औषधी उपचारका बीमा प्रभावकारी बन्दैछन् । पुल, बाटो, घर, गाडि लगायत धनसम्पत्तिदेखि पकेटमा बोक्ने मोबाइलसम्मको बीमा हुन थालेको छ । किसाले पाल्ने गाई भैँसी, बाख्रा, कुखुरादेखि खेतीपातीका पनि बीमा हुन थालेका छन् । बीमाप्रतिको चेतना विस्तारै बढिरहेको छ ।

पछिल्लो समयमा कोरोनाको बीमा गर्न तदारुकता देखाएको बिमा समितिले दीर्घकालमा कोरोना र यस्ता महामारीबाट हुने जोखिकम कम गर्न तथा कृषि क्षेत्रलाई प्रर्वद्र्धन गर्न कृषि बीमालाई उच्च प्राथमिकतामा राखेको बताएको छ ।

कोरोना महामारीकाबीच पनि आवश्यक काम गर्न सक्रिय रहेको समितिको विगत, वर्तमान र भविष्यको योजना लगायतका विषयमा केन्द्रीत रहेर बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका उप निर्देशक, मानव संसाधन शाखा प्रमुख तथा सूचना अधिकारी निर्मल अधिकारी सँग लुम्बिनी सञ्चार डट.कम.का लागिअम्बिका शर्माले गरेको कुराकानीको :

——————————

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिमा कार्यरत हुनुहन्छ । नेपालको बीमा क्षेत्रको समग्रमा अवस्था कस्तो कस्तो अवस्थामा छ ?

बीमा भनेको जोखिम व्यवस्थापन गर्ने माध्यम हो ।

तपाईंले भन्नु भएको बीमाको बर्तमान अवस्थाको कुरा गर्दा हाल नेपाली बीमा बजारमा १९ वटा जीवन, २० वटा निर्जीवन र १ वटा पुनर्वीमा गरी जम्मा ४० वटा बीमा कम्पनीहरू बीमा समितिबाट इजाजतपत्र लिइ सञ्चालनमा रहेका    छन् ।

नेपाली बीमा व्यवसाय सुरूवातको ७० वर्षको इतिहास हेर्दा बीमाको दायरामा रहेको जनसंख्या मात्र ७ सय ९८ प्रतिशतको हाराहारीमा रहेकोमा विगत २

बर्षदेखि समितिले लिएको संरचनात्मक, नीतिगत एवं कानूनी सुधारका कारण बीमा क्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणले गर्दा हाल २२ प्रतिशत जनता बीमाको दायरमा रहेका छन् भने त्यसमा बैदेशिक रोजगार म्यादी जीवन बीमा समेत गणना गर्दा २६ प्रतिशत पुगेको छ । त्यसैगरी १० हजार भन्दा बढि प्रत्यक्ष रूपमा बीमा क्षेत्रले रोजगारी प्रदान गरेको छ ।

करीब पाँच लाख अभिकर्ता, ४ सय सर्भेयर प्रत्यक्ष एंव अप्रत्यक्ष रूपमा बीमा क्षेत्रमा रोजगारीमा छन् । भने सातै प्रदेशमा गरी करीब २९ सय बीमकका शाखा सञ्चालनमा रहेका छन् । समग्र बीमा क्षेत्रको कुल ग्राहस्थ उत्पादनमामा योगदान ३.४ प्रतिशत रहेको छ ।

समितिले बीमा क्षेत्रलाइ प्रवर्धन गर्न के कस्ता कार्य गरिरहेको छ ?

बीमा समिति समग्र बीमा क्षेत्रकै नियामक निकाय हो । बीमा समिति बीमा व्यवसायलाई विकसित, व्यवस्थित, नियमित र नियन्त्रित गर्ने उद्देश्यले गठन भएको हो ।

समितिले आफ्नो उद्देश्य अनुसारका कार्यहरू गर्दै आइरहेको छ ।

यस अन्तर्गत बीमकको स्थलगत सुपरीवेक्षण तथा निरीक्षण, बीमा जागरणका कार्यक्रमहरू, जस्तै स्थानीय सरकार एंव विद्यार्थी, कृषक ,शिक्षकहरूसँग अन्तरक्रिया छलफल गर्ने, बीमकका लागि निर्देशिकाहरू जारी गर्ने, समितिका कर्मचारीको क्षमता अभिवृदि गर्न विभिन्न तालिम एंव वैदेशिक सेमिनारहरूमा सहभागी गराउने, नेपाल सरकारलाई आवश्यक सल्लाह सुझाब प्रदान गर्ने जस्ता कार्य मार्फत बीमाको पहुँच बढाउन लागिरहेको छ ।

हाल विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) ले नेपाली बीमा क्षेत्रमा कस्तो प्रभाव पारेको छ यसले पार्ने दीर्घकालीन असर के कस्ता हुन सक्छन् ?

हाल विश्वभर फैलिरहेको कोरोनाले सवै क्षेत्रमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा प्रभाव पारेको छ यससँगै बीमा क्षेत्रमा पनि प्रभाव पर्ने नै भयो ।

हाल मुलुक नै लकडाउन भएको अवस्थामा बीमा क्षेत्र अत्यावश्यक सेवा भित्र रहेपनि विविध कारणले पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

बीमा वित्तीय प्रणालीको एउटा महत्वपूर्ण पाटो भएका कारण समग्र अर्थतन्त्रमा प्रभाव पर्छ । ठूलो मानवीय क्षति भयो भने जीवन बीमा अन्तर्गतको दावी भुक्तानी अनिवार्य गर्नुपर्ने हुन्छ भने निर्जीवन बीमामा सम्पत्तीको क्षति कम हुने हुँदा निर्जीवन बीमामा खासै प्रभाव पर्दैन।

लकडाउनले उद्योग, कलकारखाना,व्यवसायहरू सञ्चालन नभएका कारण र रोजगारीमा हुनसक्ने कमीले बीमालेख नवीकरण तथा बीमा शुल्क आर्जनमा प्रभाव पर्दछ ।

महामारी फैलदो क्रममा रहेका कारण संक्रमण कति बढ्छ त्यसका आधारमा मात्र असर थाहा हुने हुँदा अहिले नै यसै हुन्छ भन्न सकिन्न ।

कोरोना वा भविष्यमा आउने यस्तै महामारीलाइ व्यवहार, नीतिगत र कानूनी रूपमा के सुधार वा नयाँ व्यवस्था गर्न सकिन्छ?

मैले यस अघि नै भनिसके कोरोना महामारी फैलदो क्रममा रहेका कारण संक्रमण कति बढ्छ त्यसका आधारमा मात्र असर थाहा हुने हुँदा यसै हुन्छ भन्न सकिन्न ।

यो महामारीले हामी सबैलाई नयाँ पाठ सिकाएको छ । हामी यस सम्बन्धमा बीमा क्षेत्रमा पर्ने प्रभाव र सम्भावना दुवै विषयमा गहन छलफलमा  छौँ ।

हामीले यसै महामारीलाई लक्षित गरी नेपालका निर्जीवन बीमा कम्पनीहरू र पुनर्वीमा कम्पनीले जोखिम वहन गर्ने गरी कोरोनाको बीमा गर्ने व्यवस्था गरेका छौँ ।

यसलाई हामीले परीक्षणको रूपमा ल्याएको हुँदा यसवाट प्राप्त नतिजाका आधारमा थप नीतिगत र कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ ।

हाल भइरहेको लकडाउनले कृषिमा विकास हुनुपर्छ भन्ने सन्देश दिइरहेको छ । तपाइँहरू कृषि बीमा प्रभावकारी बनाउन अब के गर्नुहुन्छ ?

नेपाल कृषि प्रधान देश हो । हामी सवैले भन्दै आएको कुरा पनि के हो भने अबको नेपालको बिकास र समृद्धि कृषिबाट मात्र सम्भव छ ।

यो विषयलाई सम्बोधन गर्न सर्वप्रथम त कृषि क्षेत्रमा जनतालाई आकर्षित गर्ने कार्यक्रम सरकारले ल्याउनुपर्छ । कृषिमा जनताको सहभागिता भएपछि मात्र कृषि बिमाको कुरा आउछ ।

अहिले पनि सरकारले कृषि बीमा गर्दा ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ । तर, पनि कृषिमा त्यति आकर्षण नभए जस्तो देखिन्छ ।

अब तपाईंले भने जस्तो कृषि बीमा प्रभावकारी वनाउन व्यापक रूपमा बीमा सम्बन्धि जनचेतना जगाउने र सरकारले कृषिमा आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्छ जस्तो लाग्छ र समिति कृषि बीमा प्रभावकारी वनाउन अहिले पनि लागिरहेको छ ।

आगामी दिनमा नयाँ बीमा योजना मार्फत अगाडी वढ्नुका साथै कृषकहरूलाइ सुसूचित गराउने तर्फ अग्रसर हुनेछ ।

केही दिन अघि मात्र समितिले कोरोना बीमालेख स्वीकृत गरि सबै निर्जीवन कम्पनीहरूलाइ जारी गर्न निर्देशन दिएको छ यो बीमा गर्दा जनतालाइ के फाइदा हुन्छ ?

हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड- १९) को नेपालमा पनि संक्रमण बढ्दो क्रममा रहेको छ यसले विशेष गरि न्यून आय भएका वर्गलाई आर्थिक रूपमा वढि प्रभाव पार्न सक्ने भएको हुँदा त्यस बर्गलाइ लक्षित गरि कोरोना बीमालेख जारी गरिएको    हो ।

देश संकटमा परेको अवस्थामा सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले बीमा समिति र बीमक संघ बीच छलफल भयो र नेपालका निर्जीवन बीमा कम्पनी र पुनर्वीमा कम्पनीले जोखिम लिने गरी यो बीमा अगाडी आएको हो ।

तपाईंले फाइदाको कुरा गर्नुभयो यो बीमाको फाइदा भनेको कोरोना भाइरसको उपचार खर्च त नेपाल सरकारले निशुल्क गर्ने भनेको छ ।

यस अवस्थामा हामीले स्वास्थ्य उपचार वाहेक बिरामी र बिरामीका परिवारलाई अस्पताल आवतजावत, पोषण खर्च, लगायतका आर्थिक भार कम गर्न सहयोग पुग्दछ । र, आर्थिक अभावले कोरोना लागेपछिको जीवन थप कस्टकर हुनबाट बचाउँछ ।

कोरोना बीमाको फाइदाको कुरा गर्नुभयो । के न्यून आय भएका वर्गले यो बीमालेख खरिद गर्न सक्छन ?

कोरोना बीमलेख विशेषगरी न्यून आय भएका वर्गलाइ नै लक्षित गरि जारी गरिएको हो । धनी र उच्च आयस्रोत भएका व्यक्तिले जोखिम आफै पनि वहन गर्न सक्छन उनिहरूलाई बीमाबबाट प्राप्त हुने सानो रकम आवश्यक नहुन पनि सक्छ ।

यो बीमालेखको विशेषता भनेको एक हजार रूपैयाँमा १ लाखको र पाँच सय रूपैयाँमा पचास हजार रूपैयाको बीमालेख लिन सकिन्छ भने परिवारका सदस्य समेत समावेश भएमा प्रति व्यक्ति छ सय रूपैयाँको दरले १ लाख रूपैयाँको र प्रति व्यक्ति तीन सय रूपैयाँको दरले पचास हजार रूपैयाँको बीमलेख लिन सकिन्छ ।

यो बीमालेखको पन्ध्र दिन प्रतिक्षा अवधि तोकिएको छ भने पीसीआर टेस्टबाट कोरोना पुष्टि भएमा बीमालेखमा उल्लेख भए बराबरको रकम पाइन्छ । कोरोना बीमा नेपालमा सञ्चालित सबै निर्जीवन कम्पनीले गर्ने हुँदा आफूलाई पाएक पर्ने कम्पनी मार्फत सवै जिल्लाबाट गर्न सकिन्छ ।

अन्तमा, हाल विश्वभर फैलिएको कोरोना महामारी पछि बीमा समितिको भावी योजना के के हुन सक्छन ?

बीमा समितिले हाल विधमान कानूनी तथा संरचनात्मक व्यवस्था परिवतर्न गरी अगाढी वढ्ने साथै समितिकै क्षमता बढाउने तर्फ अग्रसर हुनेछ ।

परिपालनामा आधारित सुपरिवेक्षण प्रणालीलाई जोखिममा आधारित गर्ने, बीमा कम्पनीको पूँजी जोखिममा आधारित कायम गर्ने, दाबी भुक्तानी सरल र सहज वनाउन बीमकलाइ सहजीकरण गर्ने, बीमाको पहुँच विस्तार गर्न आवश्यक जनचेतना मूलक कार्यक्रमलाई अझै व्यापक बनाउनुका साथै इन्टरनेशनल एसोसियशन अफ इन्सुरेन्स सुपरभिजन (आइएआएस) का मूलभूत सिद्धान्त अनुसार आवश्यक सुधार गर्दै जाने छ ।

यसका अलावा कोरोना महामारीको प्रभावका आधारमा बीमा व्यवसायलाइ विकास र विस्तार गर्न आवश्यक योजना तर्जुमा गरी अगाडी बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस !