५ जेष्ठ २०८१, शनिबार

एनओसी नलिई भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

प्रकाशित मिति :  23 August, 2023 11:23 am


काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नलिई भारतको सीमा क्षेत्रमा सञ्चालित शिक्षालयमा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।

वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) नलिईकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको हो । चिकित्सा शिक्षा आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भारतीय सीमा क्षेत्रमा नर्सिङ पढ्न जाने नेपाली विद्यार्थीले अनिवार्य एनओसी लिएर मात्रै जानुपर्ने बताए । उनले त्यसका लागि सम्बद्ध निकायले सूचना जारी गर्नुपर्ने बताए ।

अहिले नेपाली विद्यार्थीहरू नर्सिङ अध्ययनका लागि नेपालको सीमा क्षेत्रमा सञ्चालित कलेजमा जाने गरेका छन् । मंगलबार शिक्षा पत्रकार सञ्जालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै काप्रीले भारतीय सीमामा नर्सिङ कलेज खुलेको बारेमा कसले अनुसन्धान गरेको छ ? भन्दै प्रश्न गरे ।

उनले देश बाहिर अध्ययन गर्न कति विद्यार्थी गएका छन् भन्ने बारेमा अध्ययन गर्न जरुरी रहेको बताए । उनले नियमनकारी निकायको प्रभावकारिता नदेखिँदा अभिभावक र विद्यार्थीहरू अन्योलमा परेको बताए ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले चिकित्सा शिक्षा अयोगले समन्वय नगर्दा समस्या निम्तिएको बताए । उनले भारत सरकारले १५७ वटा नर्सिङ कलेज खोल्ने निर्णय गरेको भन्दै ती मध्ये अधिकांश बोर्डरमा कलेज स्थापना भएको बताए ।

अधिकारीले आयोगले प्रभावकारी समन्वय नगर्दा अहिले ७३ वटा नर्सिङ कलेज बन्द अवस्थामा रहेको बताए । उनले आयोगले सिटिइभिटी र विश्वविद्यालयको सम्बन्धन लिएको कलेज चलाउन नपाइने र फुटाउनुपर्ने भनेर अपव्याख्या गरेको बताए ।

कार्यक्रममा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका अध्यक्ष निर्मल सापकोटाले स्तरोन्नतिको मापदण्डमा आशय पत्र भन्ने व्यवस्था नै नरहेको बताए । उनले २० वर्षदेखि सञ्चालनमा रहेका पुराना शिक्षण संस्थाहरूलाई राज्यले पेल्न खोजेको बताए ।

चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच प्रभावकारी समन्वय नहुँदा र क्षेत्राधिकार बाँडफाँटमा टकराब हुँदा नर्सिङ शिक्षामा समस्या सिर्जना भएको छ ।



प्रतिक्रिया दिनुहोस !