४ जेष्ठ २०८१, शुक्रबार

गाैरा पर्वमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख शुभकामना: सामाजिक एकता कायम हुने विश्वास व्यक्त

प्रकाशित मिति :  24 August, 2023 9:19 am


काठमाडाैँ । सुदूरपश्चिम क्षेत्रमा विशेष प्राथमिकतासाथ मनाइने गाैरा पर्वकाे उपलक्ष्यमा राष्टपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायतले शुभकामना व्यक्त गरेका छन्। 

शुभकामनामा गाैरा पर्वले सामाजिक एकता कायम गर्न भूमिका खेल्ने उल्लेख गरिएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। 

शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन् ।

उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएका छन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यस अवसरमा खेलिने डेउडा र अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताए ।

प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

हिन्दू धार्मिक कथ्यका आधारमा महेश्वर र गौरीबीच विवाहको प्रसङ्गबाट यो पर्व परिचित भए पनि पर्यावरणीय दृष्टिले किसानले वर्षायाममा कृषि कर्म पूरा गरेर फुर्सदको समयमा सांस्कृतिक चाड बनाउने क्रममा गौरा स्थापित हुँदै आएको उनको भनाइ छ ।

शुभकामना सन्देशमा भनिएकाे छ, “यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ”, शुभकामना सन्देशमा उल्लेख छ ।

गाैरा पर्वकाे अवसरमा शुभकामना व्यकत गर्दै सभामुख देवराज घिमिरेले सबै नेपालीबिच धार्मिक सहिष्णुता, सद्धाव कायम रहाेस् भन्ने कामना गरेका छन्। 

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताबिच सुदृढ एकताकाे विशेषतायुक्त देश हाे, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहकाे छाैं,” सभामुख घिमिरेकाे शुभकामना सन्देशमा भनिएकाे छ, “संस्कार र संस्कृति हाम्रा गाैरव हुन्। विभिन्न जातजातीका भाषा, धर्म, संस्कृति, सहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्।”



प्रतिक्रिया दिनुहोस !