१ जेष्ठ २०८१, मंगलबार

संखुवासभामा भारतको सहयोगमा निर्मित हिमालय किरण पब्लिक क्याम्पसको उद्घाटन

प्रकाशित मिति :  7 September, 2023 8:57 am


काठमाडौँ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवनको उद्घाटन गरिएको छ।

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधवार संयुक्त रुपमा उद्घाटन गरेका हुन्। कार्यक्रममा संखुवासभाका राजनीतिक नेता, समाजसेवी, नेपाल सरकारका अधिकारी, क्याम्पसका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति रहेको थियो।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार ३ करोड ७४ लाख रुपैया लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण गरिएको गरिएको हो।

जिल्ला समन्वय समिति संखुवासभाले यस परियोजनाको कार्यान्वयन गरेको नवनिर्मित तीन तल्ले क्याम्पस भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल आदि रहेका छन् ।

परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्याएको र भारत जस्तो छिमेकी पाउनु नेपालको लागि गर्वको विषय भएको बताए। उनले विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरुको करियरमा सहयोग पुर्याउने भएकाले विशेष महत्व रहेको चर्चा गर्दै नेपालको विकासमा भारतको निरन्तर सहयोगको अपेक्षा रहेको बताए।

राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए। कार्यक्रममा बोल्दै श्रीवास्तवले सहकार्यले हालैका वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरुमा ठूलो फड्को मारेको बताए।

उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप यो विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको जानकारी गराए।

हिमालय मिडिल स्कुलको रुपमा सन् १९४९ मा हिमालय किरण पब्लिक क्याम्पसको स्थापना भएको हो । सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न यस विद्यालयको स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखिएको थियो।

क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा ६० प्रतिशत छात्रा रहेका छन् । हाल यस क्याम्पसमा स्नातक तहमा व्यवस्थापन र शिक्षा र स्नातकोत्तर तहमा शिक्षा विषय अध्यापन गराइन्छ।

सन् २००३ यता भारतले नेपालमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये कोशी प्रदेशमा विभिन्न क्षेत्रका गरी ८४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन् ।

भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसर पारेर हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकको छ ।

भारत सरकारले हालसम्म संखुवासभा जिल्लालाई १३ वटा एम्बुलेन्स र गत जुलाईमा यस क्याम्पसलाई प्राप्त स्कुलबस समेत गरी ३ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !