१७ बैशाख २०८१, सोमबार

डिजिटल प्रविधिको विकाससँगै पुस्तक पढ्नेहरूको कमी भयो : मेयर महर्जन

प्रकाशित मिति :  22 November, 2023 5:29 pm


काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले डिजिटल प्रविधिको विकाससँगै पुस्ताकालयमा पुस्तक पढ्नेहरुको कमी हुँदै गएको बताएका छन् ।

दक्षिण एसियाली पुस्तक प्रदर्शन, २०२३ मा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमुख महर्जनले यस्तो बताएका हुन् । पुस्तकालयमा गएर पुस्तक पढ्ने परम्परालाई डिजिटल प्रविधिले परिमार्जन गर्दै लगेको बताए ।

उनले ललितपुर महानगरले पुस्तकालयहरूलाई प्राथमिकतामा राख्ने गरेको बताए । उनले पुराना पुस्ताकालयहरूलाई पुनः स्थापनाको लागि महानगरले पूर्वाधार निर्माण गरी पुस्तकहरू थप्ने योजनामा रहेको बताए ।

महर्जनले पछिल्लो समय विगतको जस्तो पुस्तकको नाम नै तोकेर पुस्तक पढ्ने भन्ने प्रचलन हट्दै गएको बताए । उनले डिजिटल प्रविधिको कारण आवश्यक पुस्तक हातमा नै अध्ययन गर्न सकिने अवस्था आएकाले पुस्ताकालयमा गएर पुस्तक अध्ययन गर्नेरूमा कमी आएको बताए ।

“सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट अध्ययनको लागि आवश्यक पुस्तकहरु पाउने भएकाले पछिल्लो समय पुस्तकालयमा अथवा पुस्तक पढ्ने मानिसहरु क्रमश कम हुँदै गएको महशुस भएको छ”, उनले भने, “पहिला गोरखापत्र र कान्तिपुर पढ्न नपाउँदा निन्द्रा नलाग्ने मानिसहरू धेरै थिए । अहिले त्यो समय परिवर्तन भएको छ । पत्रिकाहरू पढ्न नपाएको भन्ने मानिसहरू कमै छन् । पत्रपत्रिकाको जस्तै पुस्तकमा पनि असर परेको छ । अमेरिकन पुस्तकालयहरूमा धेरै जाने गरेका थियौं । बाहिर पुस्तक किन्न पहुँच थिएन । तर अहिले इन्टरनेटका कारण कुनै पुस्तक पढ्न मन लाग्दा तत्काल हातमा भेटिन्छ ।”

उनले ललितपुर महानगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेकाले आफू दोस्रो पटक पनि निर्वाचित भएर आएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !