५ जेष्ठ २०८१, शनिबार

नेपाल संस्कृत विश्वविद्यालयको जीर्ण भवन भत्काउन सिफारिस

प्रकाशित मिति :  23 November, 2023 11:12 am


काठमाडौँ । वसन्तपुर डबलीको दक्षिणतर्फ रहेको भवन जीर्ण भएकोले भत्काउन सिफारिस गरिएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन सिफारिस गरेको हो ।

२०७९ फागुन ११ गते बिहीबार बसेको महानगरपालिकाको १३ औँ कार्यपालिका बैठकले उपप्रमुख डङ्गोलको संयोजकत्वमा वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान सङ्गत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो ।

समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन र वडा नम्बर ५ हाँडी गाउँमा रहेको कित्ता नम्बर ५७० को जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो ।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को व्यवस्थाबमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन समिति गठन गरिएको हो । यो व्यवस्था बमोजिम कुनै सरकारी निकायको नाममा दर्ता रहेको जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय, दर्तावाला निकायको केन्द्रीय निकाय र सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रालयले माग गर्ने सरकारी निकायलाई जग्गा उपयोग गर्न स्वीकृति दिन सक्नेछ ।

यो व्यवस्थाबमोजिम समितिका संयोजक डङ्गोलले २०८० भदौ १२ गते त्रिवि उपकुलपतिको कार्यालयलाई पत्र लेख्दै दर्तावालाका तर्फबाट केन्द्रीय समिति गठन गर्न र संयुक्त बैठकको वातावरण मिलाउन अनुरोध गरिएको थियो ।

जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर कार्तिक १९ गते वडामा निवेदन बुझाएका थिए । सहरी व्यवस्थापन विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इन्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इन्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इन्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समिति गठन गरेको थियो ।

समितिले मङ्सिर ४ गते प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको जनाएको छ ।

पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्याल वरपर ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिं, ढलिः आदि मक्किएको देखिएको उल्लेख छ ।

यो भवन वडा नम्बर २३ को सिट नम्बर १०२—११०४—१२, कित्ता नंम्बर ३४८ मा ४ आना १ पैसा २ दाम ९०—४—१—२० क्षेत्रफलमा छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने यो भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।

बैठकमा समितिकी संयोजक डङ्गोलले जोखिम हटाउने कामलाई प्राथमिकतामा राखेर जग्गा प्राप्त गर्ने प्रक्रियालाई निरन्तरता दिइने बताइन् ।



प्रतिक्रिया दिनुहोस !