१२ श्रावण २०८१, शनिबार

रोल्पाकाे सुलिचौरमा लैङ्गिक समानता र लैङ्गिक हिंसा सम्बन्धी संवाद

प्रकाशित मिति :  23 November, 2023 3:50 pm


रोल्पा । रोल्पाको सुलिचौरमा लैङ्गिक समानता लैङ्गिक हिंसा, बाल विवाह र हानीकारक अभ्यास सम्बन्धी संवाद कार्यक्रम भएको छ ।

लैङ्गिक हिंसाको अन्त्य गर्दै समानताबाट समतातर्फ उन्मुख हुनेपर्ने उद्देश्यसहित सरोकारवाला व्यक्तिहरूसँग सम्वाद गरिएको सुनिलस्मृति गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका भित्र आत्महत्या, बालविवाह, घरेलु हिंसा, आर्थिक हिंसा, लघुवित्त, मादक पदार्थ सेवनबाट कुटपिट जस्ता हिंसाहरू न्यूनीकरण गर्न आफूहरू लागिरहेको सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बताए । यसलाई सशक्त रुपमा न्यूनिकरण गर्न मनोसामाजिक सेवा, मनोविमर्शकर्ता परिचालन, सचेतना अभियान जस्ता कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष मणिराम बुढाथोकीको भनाई छ ।

उनले बालविवाह न्यूनीकरण सम्बन्धी रणनीति २०७७ निर्माण गरि कार्यान्वयन साथै स्थानीय पाठ्यक्रममा समेत समेट्ने प्रयास गरिएको बताए ।

घरपरिवार, समाज तथा राज्यका शैक्षिक, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका महत्वपूर्ण क्षेत्रमा लैङ्गिक हिंसा महिलामा बढी भएको कार्यक्रमका सहभागिको भनाई थियो । यसको न्यूनीकरणको लागि सबै सरोकारवालाहरू प्रतिबद्ध भएर लाग्नु पर्ने उनीहरूको भनाइ थियो ।

बालबिवाह, आत्महत्या लगायतका अन्य हिंसाहरू रोक्नका लागि बाल उद्यान निर्माण, होडिङ्ग बोर्ड लगायत प्रचार एवं पाठ्य सामग्री निर्माण र व्यवस्थापन गर्न र आगामी दिनमा बजेट विनियोजन गर्दा लैङ्गिक बजेट निर्माण गर्न सहभागिहरूले सुझाव दिएका थिए ।

छलफल कार्यक्रममा अध्यक्ष बुढाथोकीका साथै उपाध्यक्ष मीना थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, सम्पूर्ण वडाका वडा अध्यक्ष, केही वडा सदस्य, कर्मचारी, समाजसेवी, बुद्धिजीवी, इ.प्र.का. सुलिचौरका प्रमुख सन्तोष घिमिरे लगायतका सरोकारवालाहरुको सहभगिता रहेको थियो ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुका कार्यक्रम संयोजक रामनारायण शाह, फोकल पर्सन त्रिलोचन घिमिरे र जलजला बहुमुखी क्याम्पस, लिबाङका सहायक क्याम्पस प्रमुख गोकर्ण पुनले सहजीकरण गरेका थिए ।

सुनिलस्मृति गाउँपालिका, सुलिचौर रोल्पाको आयोजनामा भएको कार्यक्रमको समन्वय सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुले गरेको थियो भने आर्थिक तथा प्राविधिक सहयोग युएनएफपिएले गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !