१२ श्रावण २०८१, शनिबार

नेपालमा पहिलोपटक समलिङ्गी विवाहले पायो मान्यता

प्रकाशित मिति :  30 November, 2023 1:22 pm


काठमाडौं । नेपालमै पहिलोपटक समलिङ्गी विवाहले सरकारी मान्यता पाएको छ । लमजुङको दोर्दीमा पहिलोपटक समलिङ्गी विवाहको दर्ता गरिएको हो ।

दोर्दी २ मा विवाह दर्ता गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय पञ्जीकरण विभागको निर्देशनअनुसार विवाह दर्ता गरिएको पालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेले जानकारी दिए ।

उहाँहरुलाई पहिले समलिङ्गी विवाह दर्ताको कानुन छैन भनेर फर्कायौँ,’ लामिछानेले भने, ‘पछि मन्त्रालय, विभागमा पुग्नुभएछ । विभागको पत्र पाएपछि दर्ता गरिएको हो ।’ सर्वोच्च अदालतले पनि समलिङ्गी विवाह दर्तामा अवरोध नगर्न आदेश दिएको थियो । दोर्दी गाउँपालिका वडा नम्बर २ का रामबहादुर गुरुङ (माया) र नवलपुरको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेबीच विवाह भएको हो ।

विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो । सोहीअनुसार अस्थायी अभिलेख रहने पालिकाले जनाएको छ ।

उनीहरुले २०७४ सालमा सामाजिक परम्पराअनुसार नै विवाह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !