२५ मंसिर २०८२, बिहिबार

सेभ द चिल्ड्रेनले भूकम्प प्रभावितलाई ८ सय थान टेन्ट उपलब्ध गराउने

प्रकाशित मिति :  12 December, 2023 5:59 pm


काठमाडौँ । सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि आठ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको छ ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि इयुका राजदुत भेरोनिक लोरेन्जोले सो टेन्ट भूकम्प पीडितका लागि वितरण गर्न सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भूकम्पको मारमा परेका बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूकाे जीवन सुरक्षाका लागि अस्थायी आवासस्वरुप सो टेन्ट वितरण गर्न लागेको पनि बताए ।

राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भने, “विनाशकारी भूकम्पका कारण विशेषगरी बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपांगताभएका व्यक्ति अन्य व्यक्तिहरुभन्दा बढी प्रभावित भएका छन् । भूकम्प प्रभावितक्षेत्रमा अत्याधिक चिसोका कारण धेरै व्यक्तिको मृत्यु भइसकेको छ । त्यहाँका अति प्रभावित घरपरिवार र सीमान्तकृत समुदायको संरक्षण सुनिश्चित गर्न अत्यावश्यक छ । युरोपेलीसंघद्वारा प्रदान गरिएका टेन्टले प्रभावित घरपरिवारलाई अस्थाई बासस्थान र संरक्षण प्रदान गर्नेछ, साथै उनीहरुको जीवन रक्षा गर्न सहयोग गर्नेछ ।”

सो टेन्ट राष्ट्रिय विपद् जोखिम न्यूूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्याइने र स्थानीय तहको रोहवरमा वितरण गर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ । टेन्टमा तीन वटा कोठा हुने र त्यसले चिसोबाट बच्नका लागि सुरक्षा प्रदान गर्ने इयुले जनाएको छ । टेन्टमा खाना पकाउनका लागि स्टोभको पनि व्यवस्था छ ।

यस्तै, सेभ द चिल्ड्रेनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको निरन्तरताको तीन सय वटा बढी अस्थायी सिकाई केन्द्रको निर्माण गर्ने कार्य अघि बढाएको बताएको छ । जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा विनाशकारी भूकम्प गए पश्चात बढ्दो चिसोका कारण हालसम्म ३ बालबाललिकासहित ३२ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !