१० बैशाख २०८१, सोमबार

रोल्पा र आसपासका रैथाने उत्पादन

प्रकाशित मिति :  27 January, 2024 7:26 am


रोल्पामा सदियौँदेखि गरिँदै आएका परम्परागत अनाजहरू जस्तै– कोदो, फापर, लट्टे, भटमासलगायतका कृषि उपज हालका दिनमा घट्दै गएकोमा स्थानीयहरू चिन्तित छन् । आयात गरिएको गुणस्तरहीन चामलको प्रयोगले स्थानीयहरूको स्वास्थ्यमा नकारात्मक असर परेको छ भन्नुमा कुनै अत्युक्ति हुने छैन ।
————–

अमर अधिकारी

देशका रैथाने बालीका कुरा गर्दा चितवनको तोरी, पोखराको जेठोबुढो र पोखरेली चामल, बरमझियाको पेडा, मनकामनाको सुन्तला, सिन्धुलीको जुनार, जुम्ला र मुस्ताङको स्याउ, जनकपुरको माछा (पोखरी), मलेखुको माछा (त्रिशुली नदी) इलामको पाँच–अ (अदुवा, अम्रिसो, अलैँची, अर्थोडक्स चिया, अकबरे ) पाँचखाल र साँखुको आलुको चर्चा हुन्छ ।

लालबन्दीको गोलभेँडा, झापाको सुपारी, रिडीको खुदो, भक्तपुरको दही, धुनिबेशीको अम्बा, टिकनीको चिउरा, चित्लाङको मुला, टोखाको चाकु, फर्पिङको नासपाती, खोकनाको तेलको आफ्नो पहिचान छ । कतिपय जिल्ला तथा स्थानहरू पनि केही न केही उपजले ख्याति कमाएको पाइन्छ ।

रोल्पाको खुङ्ग्रीको आफ्नो पहिचान हो मास । ऐतिहासिक काल खुङ्ग्री बाइसे राज्यअन्तर्गत थियो । पहिले प्युठान र अहिले रोल्पामा पर्ने खुङ्ग्री समुद्र सतहदेखि ७ सय मिटरको उचाईमा छ । समशितोष्ण हावापानी भएको खुङ्ग्री रोल्पाभरिमा सबभन्दा सुन्दर गाउँ मानिन्छ । जाडो याममा न धेरै जाडो न त गर्मीयाममा धेरै गर्मी नै हुन्छ ।

आँप, केरा, चिउरी धेरै फल्ने यो क्षेत्रमा केराका स्थानीय जातहरू भने विस्तारै मासिँदो छ । खुङ्ग्रीको बयर पनि चर्चामा आउने गर्छ ।

काठमाडौँ सिंहदरबार निर्माण हुँदा खुङ्ग्रीबाट तीनहप्तासम्म भरियालाई बोकाएर काठमाडौँमा मास लगिएको चर्चा अहिले पनि हुन्छ । मास भिजाएर लेदो पारेर त्यसमा रातोमाटो र सुर्की (चुन) मिसाउँदा सिमेन्टजस्तै कडा हुन्छ । सिंहदरबार निर्माण गर्दा खुङ्ग्रीको मास प्रयोग भएको भनिए पनि यसका प्रमाणिक दस्तावेज वा प्रमाण भने भेटिँदैन ।

यद्यपि, पोटिलो दाना,मीठो स्वाद र पानीमा राम्ररी भिज्ने भएकोले राप्ती भेगका धेरैको रोजाइमा खुङ्ग्रीको मास पर्दै आएको छ । २०४३ सालमा काठमाडौँ बानेश्वरको व्यापारीको एक गोदाममा बोराका बोरा मास भण्डारण गरेको यस लेखकले देखेको थियो ।

राेल्पा खुङ्गीकाे मास।

के हो भनी सोध्दा खुङ्ग्रीको मास भन्ने जवाफ पाउँदा यो लेखक दङ्ग परेको थियो । त्यतिबेला रोल्पाबाट सिधै यातायातका साधन चल्दैनथे । रोल्पाबाट दाङसम्म मान्छे वा घोडाद्वारा बोकाएर मास ल्याइन्थ्यो र दाङबाट बसद्वारा काठमाडौँसम्म आउँथ्यो ।

जथाभावी रासायनिक मलको प्रयोगले गर्दा देशभर माटोको उर्वराशक्ति घट्दै गएको सन्दर्भमा खुङ्ग्री पनि अछुतो रहन सकेन । फलस्वरूप मासको उत्पादनमा कमी हुँदै गैरहेको छ ।

रोल्पाको सदरमुकाम लिबाङ र आसपासमा पछिसम्म पनि सिमी, बोडी, चुच्चेकरेला र रायोको सागबाहेक अन्य तरकारीको खेती गरिँदैन थियो । खुङ्ग्रीबाट काउली, बन्दा, प्याजलगायत मास भारीका भारी सदरमुकाम लिबाङतिर पठाइन्थ्यो ।

खुङ्ग्रीको मास, घोडागाउँको सिन्की र लिबाङ–गजुल–सिर्प–नम्जाको सुकासाग (स्थानीय भाषामा मार्‍यासाग) को चर्चा पनि नभएको होइन । लिबाङ नजिक पर्ने भुमको डौँरे (ठुलो निगुरो) र सुन्तला पनि उत्कृष्टमा गनिन्छ । तेबाङको सुन्तला र मोसम पनि चर्चामा रहने गरेको छ । फर्साचौरमा लट्टेको खेती अझै पनि हुने गरेको देखिन्छ । जुन पाक्नुअघि बारीमा राता, पहेँला र सेता रङहरूमा आकर्षक देखिन्छन् ।

सिमीको दालमा पनि रोल्पा आत्मनिर्भर थियो तर केहीवर्षअघिदेखि सिमीका दाना अन्यत्र निकासी हुनाले गाउँघरका स्थानीयहरूले मधेशबाट आएको मुसुरो र रहरको दाल खान थालेका छन् ।

माडीखोला भेगमा चिउरी घिउ पाइन्छ । चिउरी घिउलाई आयुर्वेदले उत्कृष्ट ठहर्‍याएको छ । तिहारमा बनाइने फिनीरोटी अन्य तेलमा बनाएको भन्दा चिउरी घिउमा बनाएको आकर्षक र मीठो मानिन्छ । प्युठानस्थित बडडाँडाको सानो बजारमा चिउरी घिउका पोकाहरू पसलमा राखेको देखिन्छ ।

बडडाँडा आसपासमा प्राङ्गारिक तवरले उत्पादन गरिएका स्थानीय जातका केरा, अदुवा र पिँडालुलगायतका उपभोग्य वस्तुहरू बिक्री वितरणका लागि राखिएका हुन्छन् । बडडाँडामा गाडी रोकेर ती वस्तु खरिद गर्न यात्रुहरू आकर्षित हुने गर्छन् ।

रोल्पामा सदियौँदेखि गरिँदै आएका परम्परागत अनाजहरू जस्तै– कोदो, फापर, लट्टे, भटमासलगायतका कृषि उपज हालका दिनमा घट्दै गएकोमा स्थानीयहरू चिन्तित छन् । आयात गरिएको गुणस्तरहीन चामलको प्रयोगले स्थानीयहरूको स्वास्थ्यमा नकारात्मक असर परेको छ भन्नुमा कुनै अत्युक्ति हुने छैन ।

राेल्पा जिल्लाकाे खुङ्ग्री।

माघे संक्रान्तिको अवसरमा घिउ, चाकु, तरुल खाने चलन छैन । चाकु त अहिलेसम्म रोल्पामा प्रवेश पाएको छैन । माघे संक्रान्तिका दिन बिहान झुसेतिल अर्थात् फिलुंगको तेलसँग खिचडी खाने चलन थियो ।

पहिले पहिले बारीका बिचमा हरियो मास र वरिपरि फुलेका फिलुंगका पहेँला फूलहरूले मान्छेलाई मनमोहक बनाउँथ्यो । हालका दिनहरूमा फिलुंगको खेती त्यति गरेको देखिँदैन । फिलुंगेको तेलको सट्टा खिचडीसँग घिउ खाने चलन छ । बेलुकी भने मासकै फुरौला अर्थात् स्थानीय भाषामा बटुक खाने चलन छ । धेरै पहिले चतुर्भुजमा माघेसंक्रान्ति मेला पनि लाग्दथ्यो ।

साविक राप्ती अञ्चलका केही स्थानहरूमा चर्चित कृषि उपजहरूः

खुंग्री–सारी–भिंग्रीको मास, मिझिङको जौ र लट्टे, कोइरालखर्कको कोइरालो, धबाङ–जिनाबाङ –गामखोलाको आलु,
बाजाबाङको केरा, धबाङ–तेबाङको सुन्तला, सुकिदहको रायोको विउ, थबाङको भाङो, बोज्याङ–बडाचौर–गुम्चालको कोदो, खद्दर–बोज्याङको भटमास, रुकुमको सुकाएको सिस्नो ।

रोल्पाको आसपासका कृषिउपजले पनि चर्चा नपाएको होइन । प्यूठानको मुला, बाँझीपुरको बदाम, खालको काफल र बाजमको मह पनि चर्चामा आउँछन् ।

हाल रोल्पामा पालिकैपिच्छे धेरै स्थानहरूमा बजार विस्तार हुँदै गएका छन् । खेतबारी बाँझो हुँदैजाँदा रोल्पाका स्थानीय कृषिउपज हराउँदै अर्थात् लोप हुँदैजाने र कतिपय अनाज तरकारी र फलफूल मधेशलगायत वाहिर जिल्लाबाट आउने गरेको छ ।

रोल्पालीहरूले हालका दिनहरूमा पहिलेको जस्तो मकै, भटमास, लट्टे, जुनेलो भुटेर खाने चलन हट्दै गैरहेको छ । रोटी, आटो आदि खान छाडेर खानाको रूपमा आयातीत अस्वस्थकर चामलको भात खान थालेका छन् । खाजाको रूपमा पाउरोटी, चाउचाउ र विस्कुट खान थालेका छन् । जुन स्वास्थ्यका लागि स्थानीय उत्पादबाट बन्ने परिकार जति लाभदायक छैनन् ।

स्वास्थ्यवर्धक समेत रहेका रोल्पा र आसपारका जिल्लाका रैथाने उत्पादनहरुको संरक्षण संरवर्धन गर्न नितान्त जरुरी भइसकेको छ । सहरमा बस्नेले पनि गाउँको रैथाने खानातिरै मन फर्काउन थालेको वर्तमान परिस्थितिमा यस भेगमा पाइने महत्वपूर्ण रैथाने उत्पादनको व्यसायीक उत्पादन बढाएर आम्दानी बढाउन सकिने सम्भावनासमेतलाई मध्यनगर गरेर किसान तथा सबै सरोकारवालाले आफ्नो स्थानीय उत्पादन संरक्षण, उत्पादन तथा उत्पादकत्व वृद्धि र बजारीकरणमा लाग्न ढिला नगरौँ।

(राेल्पाकाे खुङ्ग्री स्थायी घर भएका लेखक अधिकारी हाल बुढानिलकण्ठ काठमाडाैँमा बसाेबास गर्छन्।)



प्रतिक्रिया दिनुहोस !